लागुऔषध ओसारपसार गर्ने सशस्त्रका सहायक हवल्दार माथि अनुसन्धान शुरु

लागुऔषध ओसारपसार गर्ने सशस्त्रका सहायक हवल्दार माथि अनुसन्धान शुरु

विराटनगर, १ साउन । सशस्त्र प्रहरीका सहायक हवल्दार ३१ वर्षीय पूर्णबहादुर थापामगर विरुद्ध नेपाल प्रहरीले लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने भएको छ ।

थापामगर विरुद्ध लागुऔषध मुद्दा चलाउनका लागि आज जिल्ला अदालत मोरङबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट ठूलो परिणामको लागुऔषधसहित थापामगर हिजो पक्राउ परेका थिए ।

लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले सुनसरीको धरान घर भई सुनसरीकै अमडुवास्थित बिओपी पोस्टमा कार्यरत उनलाई पक्राउ गरेको हो ।
उनको साथमा रहेको नाइलनको झोलामा चिनी र चनामा लुकाएर ल्याएको अवस्थामा लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा तीन सय नौ एम्पुल लागुऔषध बरामद भएको थियो । थापामगर पक्राउ परेसँगै सशस्त्र प्रहरीकै संलग्नतामा भारतबाट लागुऔषधको अवैध ओसारपसार हुने गरेको तथ्य बाहिर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्