विराटनगरबाट पक्राउ परेका शसस्त्रका हवल्दारसँग कनेक्सन रहेका लागुऔषधका व्यापारी पक्राउ

विराटनगरबाट पक्राउ परेका शसस्त्रका हवल्दारसँग कनेक्सन रहेका लागुऔषधका व्यापारी पक्राउ

विराटनगर ३ साउन ।
लागुऔषधसहित पक्राउ परेका सशस्त्र प्रहरीका हवल्दासँग कनेक्सन देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।
लागुऔषधका व्यापारी धरान उपमहानगरपालिका–६ का सुनिल भनिने चन्द्रबहादुर रानामगरलाई पक्राउगरि विराटनगर ल्याइएको हो । सशस्त्रका सहायक हवल्दार ३१ वर्षीय पूर्णबहादुर थापामगरले विराटनगर हुँदै उनैलाई लागुऔषध भारतको जोगवनीबाट पु¥याइदिने गरेको खुलेको छ । सुनसरीको अमडुवास्थित बिओपी पोस्टमा कार्यरत थापामगरलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले गत मंगलबार विराटनगर–१६ बाट लागुऔषधसहित पक्राउ गरेको थियो ।
उनको साथबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा तीन सय नौ एम्पुल लागुऔषध बरामद भएको थियो । लागुऔषधको खुलेआम किनबेच हुने भारतको जोगवनी बजारबाट उनले ल्याएको अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट थापामगरले पछिल्लो समय लागुऔषध बिक्री गर्ने भारतीय डिलर र नेपालमा अवैध रुपमा यसको कारोवार गर्ने व्यापारीको बीचमा पुलको काम गर्ने भरिया बनेर लागुऔषधको ओसारपसार गर्न थालेको खुलेको एक प्रहरी अधिकृतले बताए ।
थापामगर एक वर्षदेखि लागुऔषधको सेवनकर्ता रहेको र लागुऔषधको कुलतमा फसेको पनि पत्ता लागेको छ । कुलतमा फसेपछि उनले आफू सशस्त्र प्रहरीमा कार्यरत रहेको मौकाको फाइदा उठाउँदै परिचय पत्र र बर्दीको दुरुपयोग गरेर निश्चित रकम लिंदै जोगवनीबाट धरानसम्म लागुऔषध पु¥याउने काम गरेको खुलेको छ । लगभग सात÷आठ महिनादेखि सहायक हवल्दार थापामगरले यो काम गर्न थालेको नेपाल प्रहरीले जनाएको छ ।
सहायक हवल्दार थापामगरले जोगवनीबाट ल्याइदिएको लागुऔषध धरानबाट पूर्वी पहाडी जिल्ला र पूर्वकै विभिन्न सहरमा ‘सप्लाई’ गर्ने धन्दामा रानामगरको संलग्नता रहेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । खिउजुका अनुसार उनले दिएको १९ हजार रुपैयाँ र केही रकम रानामगरकै नाममा डिलरसँग बाँकी राखेर सहायक हवल्दार थापामगरले जोगवनीबाट लागुऔषध खरिद गरेर ल्याएको खुलेको छ ।
‘सशस्त्र प्रहरी भएकाले जोगवनीबाट नेपाल ल्याउन सहज हुने भन्दै लागुऔषधको अवैध व्यापार गर्दै आएका रानामगरले सहायक हवल्दार थापामगरलाई पैसा दिएर प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरीका एक अधिकृतले भने । थापामगर पक्राउ परेसँगै सशस्त्र प्रहरीकै संलग्नतामा भारतबाट नेपालतर्फ लागुऔषधको अवैध ओसारपसार हुने गरेको तथ्य सार्वजनिक भएको थियो । भारतसँगको खुला सीमानाको फाइदा उठाएर बर्दी र परिचय पत्रको दुरुपयोग गर्दै कानुनद्धारा बर्जित लागुऔषधको अवैध ओसारपसार गर्ने गरेको नेपाल प्रहरीले जनाएको छ ।
लागुऔषध ओसार्न भरियाको काम गर्ने सहायक हवल्दार थापामगर र यसको व्यापार गर्ने रानामगर विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्