भ्रष्ट कर्मचारीका कारण मुख्यमन्त्रीलाई तनाव, ‘घुस मागेको थाहा पाए एक घण्टामै कार्वाही’

भ्रष्ट कर्मचारीका कारण मुख्यमन्त्रीलाई तनाव, ‘घुस मागेको थाहा पाए एक घण्टामै कार्वाही’

विराटनगर, ६ साउन ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । भ्रष्टाचार गर्र्ने तथा प्रदेशलाई बद्नाम गराउने काम थालिएको भन्दै मुख्यमन्त्री राईले यस्ता गतिविधिमा संलग्न कसैलाई नछाड्ने चेतावनी दिएका हुन् ।
प्रदेश मातहतका मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा कार्यालय प्रमुखहरुलाई आफ्नो कार्यालयमा बोलाएर मुख्यमन्त्री राईले घुसबारे पर्याप्त सूचना आएको जानकारी दिँदै त्यस्ता गतिबिधि गर्नेलाई तुरुन्त कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
उनले त्यस्तो गरेको थाहा पाए एक घण्टामै कारबाही गरिने बताउँदै उनले कर्मचारीलाई सचेत गराएका हुन्।
मुख्यमन्त्री राईले कर्मचारीबाट प्रदेशको बद्नाम थालिएको भन्दै त्यस्तो नगर्न सचेत गराए । उनले कसको आडमा गरिएको हो? सूचना दिन निर्देशन पनि दिए।
‘कुन अड्डा कसरी चलिरहेको छ भन्ने विषयमा निरन्तर निगरानी गरिरहेका छौँ’, उनले भने, ‘मान्छे (कर्मचारी) रंगेहात समातिनु र यति अंक रकममाथि बुझाउनु पर्ने भनेर बयान आउनु यो कस्तो तरिका हो? ‘माथि भनेको काहाँ हो ? घुसका निम्ति विभिन्न सेटिङ मिलाइन्छ, मिलाउने काम भइरहेको छ ?’
मुख्यमन्त्री राईले आफू इमानको जगमा उभिएर नेतृत्व गर्ने बताउँदै अब आक्रमक रुपमा अगाडि बढ्ने पनि दाबी गरे। प्रदेश सरकारले केही थाहा पाउँदैन भनेर जे मन लाग्यो त्यही नगर्न उनले कर्मचारीलाई सचेत गराए।
बैठकमा आफ्ना कुरा राख्दै प्रदेशका प्रमुखसचिव सुरेश अधिकारीले प्रदेश सरकारको उद्देश्य र दृष्टिकोणका आधारमा काम गर्न कर्मचारी संयन्त्रको प्रभावकारिताको समीक्षा गर्नु आवश्यक रहेको बताए। उनले कार्यालय प्रमुखहरु घुससहित समातिनु लज्जास्पद भन्दै त्यसले प्रदेशको इज्जतमा धब्बा लागेको पनि बताए। उनले सबै कर्मचारीको सयमा सय नम्बर आउँदा कार्यालयको प्रगति भने ४० प्रतिशत मात्रै हुनु अमिल्दो भएको उल्लेख गरे।
प्रदेश सरकार बनेको डेढ वर्ष पुगेपछि पहिलो पटक मुख्यमन्त्रीको निर्देशनमा यो बैठक बोलाइएको हो । बैठकमा पत्रकारहरुलाई पनि सहभागी गराइएको थियो । प्रदेश सरकारमा विकास बजेट दुरुपयोग भएको आलोचना भइरहेका बेला मुख्यमन्त्रीले कडा निर्देशन दिएका हुन्।
गृहजिल्ला भोजपुरका एक कार्यालय प्रमुख घुससहित पक्राउ परेपछि मुख्यमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । भ्रष्टाचारसँग मुछिएका भौतिक पुर्बाधार विकास मन्त्रालयका सचिवको समेत सरुवा भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्