मोरङ व्यापार संघ र विराट व्यापार संघको नयाँ कार्यसमितिलाई कांग्रेस मोरङको सम्मान

मोरङ व्यापार संघ र विराट व्यापार संघको नयाँ कार्यसमितिलाई कांग्रेस मोरङको सम्मान

विराटनगर, ६ साउन । नेपाली कांग्रेस मोरङले मोरङ व्यापार संघ र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
वीपी कोइरालाको ३७ औं जन्मजयन्तीको अवसरमा पारेर पार्टी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा कांग्रेसले दुवै संस्थाका कार्यसमितिलाई सम्मान गरेको हो ।


कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, महासचिव अनिल साह, विराट व्यापार संघका अध्यक्ष सुजन थापालगायत पदाधिकारी र सदस्यहरूलाई कांग्रेस केन्द्रीयहरू सदस्य एवं सांसद डा. डिला संग्रौला, अमृत अर्याल, हसन अन्सारी, मोरङ सभापति डिगबहादुर लिम्बूलगायतले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गरे ।
नेपालको राजनैतिक र आर्थिक क्रान्तिमा उद्योगी व्यवसायीको महत्वपूर्ण योगदान भएकाले दुवै संस्थाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताए । उद्योगी व्यवसायीले उठाउँदै आएको मुद्दामा कांग्रेसको सधैं साथ रहने उनको भनाइ थियो ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाले र विराट व्यापार संघका अध्यक्ष थापाले सरकारले लगाएको अचाक्ली करका कारण उद्योगी व्यवसायीहरू हतोत्साहित भएको बताए । कार्यक्रममा केन्द्रीय सदस्य डा. संग्रौलाले मुलुकमा निजी क्षेत्रको लगानी बिना वीपी कोइरालाको सपना अधुरो हुने बताइन् । उनले वीपी कोइरालाले समृद्धि नेपालको सपना अझै पूरा हुन नसकेको उल्लेख गरिन् । प्रतिनिधिसभा सांसदसमेत रहेकी संग्रौलाले मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको निजी क्षेत्रलाई वर्तमान सरकारले उपेक्षा गरेको आरोपसमेत लगाइन् । “निजी क्षेत्रलाई उपेक्षा गरेर समृद्धि नेपाल सुखी नेपालीको सपना देख्ने कम्युनिष्ट सरकारबाट मुलुक अगाडि बढ्न सक्दैन,” उनले भनिन् ।

कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेसले मात्रै लगानीको वातावरण बनाउने दाबी गरे । “अहिले लगानीको वातावरण छैन । उद्योगी व्यवसायीहरू पलायन भइरहेका छन्,” उनले भने, “यसरी नै करको भार थोपर्दै जाने हो भने संघीयता नै असफल हुन्छ ।”
सरकारले जथाभावी लगाएको करका कारण निजी क्षेत्र प्रताडित भएको उनको भनाइ थियो । कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य हसन अन्सारी, मोरङ सभापति डिकबहादुर लिम्बू, सचिव नागेश कोइराला, मोदराज घिमिरे, प्रदेश सांसद शिवनारायण गन्गाई, महासमिति सदस्य आशाकुमारी सरदारलगायतले उद्योगी व्यवसायीको समस्यामा कांग्रेसको सधैं साथ रहने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्