विदेशीको अपराध धन्दा, नौ महिनामा १७५ पक्राउ

विदेशीको अपराध धन्दा, नौ महिनामा १७५ पक्राउ

काठमाडौं, ७ साउन । नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांकअनुसार विभिन्न अपराध शीर्षकमा १७५ विदेशी नागरिक पक्राउ परेका छन् । तीमध्ये सबैभन्दा बढी लागूऔषध कारोबारको मुद्दामा पक्राउ परेका छन् । १०९ पुरुष र ४ महिला गरी कुल ११३ विदेशी नागरिक लागूऔषध मुद्दामा पक्राउ परेका हुन् ।
त्यस्तै, सो अवधिमा जबर्जस्ती करणीको मुद्दामा १९ र हातहतियार तथा खरखजाना मुद्दामा १५ विदेशी नागरिक पक्राउ परेको तथ्यांक नेपाल प्रहरीसँग छ । त्यस्तै, कर्तव्य ज्यान मुद्दामा तीन, ज्यान मार्ने उद्योगमा नौ, डाँका चोरीमा आठ, व्यक्ति अपहरणमा दुई, मानव बेचबिखनमा तीन र विस्फोटक पदार्थ मुद्दामा तीन जना विदेशी नागरिक सो अवधिमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआइजी सैलेश थापा क्षेत्रीले नेपालमा पक्राउ परेका विदेशी नागरिक व्यावसायिक रूपमा अपराध कर्ममा संलग्नदेखि तत्कालीन परिस्थितका कारण अपराध कर्ममा संलग्न रहेकासम्म पाइएको जनाए । ‘नेपालमा अपराध कर्ममा संलग्न हुन पैसा लिएरै आएका विदेशी नागरिकदेखि तत्कालीन अवस्थामा परिस्थितिका कारण अपराधमा संलग्न हुन पुगेका विदेशीसम्मलाई प्रहरीले पक्राउ गरेको छ’, डीआइजी क्षेत्रीले   भने ।

उनले पैसा लिएरै व्यावसायिक रूपमा नै अपराध गर्न आउने, लागूऔषधको कारोबारमा क्यारियरको काम गर्ने, नेपाल भ्रमणमा आएकाहरू तत्कालीन आवेशका कारण अपराधमा संलग्न हुनेसहितका विभिन्न अपराधमा विदेशीहरू संलग्न हुने गरेको जनाइएको छ । पक्राउ पर्ने विदेशी नागरिकमा अधिकांश छिमेकी मुलुकको रहेको प्रहरीले जनाएको छ । तर, कुनकुन देशका कति नागरिक कुन मुद्दामा पक्राउ परेको भन्नेबारे प्रहरीले तथ्यांकमा खुलाएको छैन । प्रहरीले बेलाबखत भारतसँगको खुला सिमानाका कारण अपराध नियन्त्रणमा असहज हुने गरेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्