मोरङको बढीपीडितको गुनासो ‘चाहिएका बेला राहत नै उपलब्ध हुन सकेन ’

मोरङको बढीपीडितको गुनासो ‘चाहिएका बेला राहत नै उपलब्ध हुन सकेन ’

विराटनगर, ७ साउन । स्थानीय सरकारले बाढी तथा डुबान पीडितहरुलाई समयमै राहतको व्यवस्था गर्न नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । मोरङको ग्रामथान गाउँपालिका वडा नं. ५ मा विपद् जोखिम न्यूनीकरण सम्बन्धीको साझा सवाल कार्यक्रमका सहभागीहरुले राहतको नाउँमा पानी र चाउचाउ मात्रै पाएको बताएका छन् ।

वर्ल्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरले सोमबार आयोजना गरेको कार्यक्रममा स्थानीय रेनुका भुजेलले स्थानीय सरकारबाट समयमै राहत पाउन नसकेको बताइन । उनले भनिन्,‘‘चाहिएका बेला राहत नै उपलब्ध हुन सकेन ।’’

अस्मिता चौधरीले एक पटक चाउचाउ र पानी वितरण गरिएपनि डुवानमा परेका सवैलाई नपुगेको बताइन । ग्रामथान ५ का चतुरलाल खाँले बाढी र डुबानको समयमा अपाङ्गता भएका व्यक्तिलाई समस्या हुने गरेको बताए । बाढीपछि बालबालिकाहरु विरामी परेकाले घर घरमा स्वास्थ्य परिक्षणका लागि टोली खटाउन आग्रह गरे । प्रमोद धमलाले पानीको निकासमा गाउँपालिकाको ध्यान पुग्न नसकेको बताए ।

समयमै पानी निकासमा गाउँपालिकाले ध्यान पुर्‍याएको भए धेरै घर डुबानमा नपर्ने उनको भनाइ छ । गाउँपालिका उपप्रमुख फूलकुमारी चौधरीले बाढी तथा डुबानमा परेकाहरुको तथ्यांक संकलनको काम भईरहेकाले चाँडै राहत वितरण गरिने बताए ।

विपद् जोखिम न्युनीकरणका लागि गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको उपप्रमुख चौधरीको भनाइ छ । वडा नं. ५ का वडाध्यक्ष खड्गनारायण खाँले राहतका लागि सम्बन्धित निकायमा पहल भइरहेको बताए । विपद् जोखिम न्युनीकरणका लागि विभिन्न सचेतनामुलक काम वडा कार्यालयले गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्