ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना समाप्त

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना समाप्त

काठमाडौं साउन १२। अस्ट्रेलियामा अर्को वर्ष हुने आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना समाप्त भएको छ ।

एसियाली छनोटको अन्तिम खेलमा आज सिंगापुरसँग पराजित भएपछि नेपालको बाटोमा पूर्णविराम लागेको हो ।

नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएको सिंगापुर भने विश्वकप टि–ट्वेन्टी क्रिकेटको ग्लोबल छनोटमा पुगेको छ ।

सिंगापुरमा आज टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो ।

उसका लागि टिम डेभिडले सर्वाधिक ७७ रन बनाउँदा रोहन रंगराजनले ४९ रन तथा मनप्रित सिंहले ४२ रन जोडे ।

बलिङतर्फ नेपालका अभिनाश बोहोराले ४ तथा करण केसीले २ विकेट लिए ।

जवाफमा १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा अलआउट हुनुपूर्व १ सय ९ रन मात्रै बनाउन सक्यो ।

नेपालको लागि ज्ञानेन्द्र मल्लले ३९ रन तथा दिपेन्द्रसिंह ऐरीले २३ रन बनाए । नेपाललाई सस्तैमा रोक्न सिंगापुरका सेलाडोर विजयकुमारले ४ विकेट लिए ।

समुहका सबै ४ खेलको समाप्तीपछि ७ अंक जोडेको सिंगापुर एसियाली फाइनल छनोटको च्याम्पियन बन्दै ग्लोबल छनोटमा प्रवेश गर्‍यो ।

आगामी अक्टोबर र नोभेम्बर महिनामा युएईमा हुने ग्लोबल छनोटमा १४ देशले सहभागिता जनाउने छन् ।

उक्त प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छानिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्