मोरङका अनिशको ‘शंकास्पद मृत्यु’मा प्रहरीले थाल्यो अनुसन्धान

मोरङका अनिशको ‘शंकास्पद मृत्यु’मा प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर, १२ साउन ।आफ्नै साथीले घरबाट लिएर गएका मोरङ मिक्लाजुङका अनिश कार्कीको मृत्यु शंकास्पद भएको आफन्तले दाबी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

साउन ५ गते आफ्नै साथीले राति १० बजे घरबाट लगेका अनिशको चार दिनपछि शव फेला परेको थियो। बक्राहा र नुनसरी खोलाको दोभाननजिक उनको शव खोलाले बगाएको अवस्थामा फेला परेको थियो।

बेपत्ता भएको चार दिनपछि खोलामा शव फेला पर्नु र सँगै गएका साथी बेखबर हुनुले पनि घटना नियोजित भएको हुन सक्ने प्रहरीको भनाइ छ।

अनिशलाई लैजानेमध्ये सन्दीप नेपालीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। अर्का विशाल ऋषिदेव फरार छन्। अनिशको शव पोस्टमार्टमका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार रिपोर्ट आइसकेपछि मृत्युको कारण बताउन सकिने छ।

‘उनलाई लैजाने एक जना साथी फरार छन्, साथी फरार भएकाले पनि यसमा अनुसन्धान गर्नुपर्ने देखियो,’ उनले भने।आमाले दोस्रो विवाह गरेपछि सानै उमेरदेखि नै मिक्लाजुङ–९ मधुमल्ला चौकस्थित उनी मावल बस्दै आएका थिए।

गएको फागुनमा बिहे गरेपछि मधुमल्लामा अनिश दम्पत्ति डेरा बस्दै आएका थिए। अनिषकी श्रीमती रञ्जिलाका अनुसार अनिशका साथी सन्दीप र विशाल ऋषिदेवले रातको १० बजे लगेका थिए।उनीहरू सानैदेखि मिल्ने साथी हुन्। भोलिपल्ट बिहानसम्म पनि अनिश घर नआएछि रञ्जिलाले नेपालीलाई अनिश खोई भनी सोधेकी थिइन्। नेपालीले ‘काठमाडौं गयो’ भन्दै जवाफ दिएको रञ्जिला बताउँछिन्। अनिशको मृत्यु प्रकरण सामान्य नदेखिएपछि प्रहरीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले बताए। (सेतोपाटी डटकम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्