स्पेन पठाउने भन्दै विराटनगर पिचराका रोशन श्रेष्ठ २० लाख लिएर फरार, श्रम कार्यालयमा उजुरी

स्पेन पठाउने भन्दै विराटनगर पिचराका रोशन श्रेष्ठ २० लाख लिएर फरार,   श्रम कार्यालयमा उजुरी

विराटनगर, १३ साउन ।
स्पेन पठाउने भन्दै एउटै परिवार भित्रका नाता सम्बन्ध पर्ने एक व्यक्तिले छ जना व्यक्तिसँग मोटो रकम लिएर ठगी गरेका छन् । आफ्नै परिवारका सदस्यबाट २० लाख १८ हजार पाँच सय रुपैयाँ पैसा असुलेर विराटनगरका एक युवा फरार भएका हुन् ।
विराटनगरको पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्दै आएका २४ वर्षीय रोशन श्रेष्ठ गैली वैदेशिक रोजगारीका लागि स्पेन पठाइदिने भन्दै पैसा उठाएर फरार भएका हुन् । उनी एक बर्षदेखि सम्पर्क बिहिन भएका छन् । गैलीका विरुद्ध सोमबार श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ ।
ठगी गरेको पुष्टि भएपछि कार्यालयले गैलीलाई पक्राउ गर्न पूर्जी जारी गर्दै प्रहरी र अन्य सरकारी निकायमा पठाएको छ । उनले झापा बुद्धशान्ति गाउँपालिका–३ का हेमबहादुर माझी, टेकबहादुर माझी, विनोद माझी, अरुण माझी, झापा भद्रपुर नगरपालिका–३ की सीमा तामाङ र इलाम करफोकका अदित तामाङसँग पैसा उठाएका हुन् । पीडितहरुले ठगि गरेको पर्याप्त प्रमाणसहित उजुरी दिएको र ठगी गरेको पुष्टि पनि भएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए ।


‘उजुरी परेपछि अनुसन्धान थालिएको छ,’ सञ्जेलले भने, ‘गैलीका नाममा पक्राउ पूर्जी जारी गर्दै देश भरीका प्रहरी कार्यालय र विभिन्न सरकारी निकायमा पठाइसकिएको छ ।’ भागेर विदेश जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यसतर्फ पनि रोक लगाइएको सञ्जेलको भनाइ छ ।
झापा बुद्धशान्तिका लोकबहादुर माझीले पीडितहरु सबै आफ्ना भतिज, नाति र नातिनी पर्ने बताए । श्रम कार्यालयमा भेटिएका उनले आफू धेरै वर्ष स्पेन बसेको र त्यहाँबाट छ जनाका लागि भिसा लिएर आएको भन्दै छलेर र प्रलोभनमा पारेर गैलीले ठगी गरेको बताए । उनका अनुसार सबैलाई बैंक र आईएमई मार्फत रकम जम्मा गर्न लगाइएको थियो ।
लोकबहादुरले दुई महिना भित्रमा विदेश पठाउने भन्दै २०७५ साउनमा सबैसँग गैलीले पैसा लिएको बताए । आधा पैसा यहीं र आधा स्पेन पुगेर काममा लागेपछि दिनु भन्दै एक जनासँग लगभग साढे तीन लाख रुपैयाँ उठाएको उनको भनाइ छ । गैलीले स्पेन जानलाई एक जना बराबर सात लाख रुपैयाँ लाग्ने बताएको पीडितले श्रममा दिएको उजुरीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्