विराटनगरमा आमालाई यातना दिने बाबुले छोरीलाई जवरजस्ती लैजान खोज्दा

विराटनगरमा आमालाई यातना दिने बाबुले छोरीलाई जवरजस्ती लैजान खोज्दा

विराटनगर, १४ साउन ।
दरबलसहित जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका बाबुले जवरजस्ती तानेर लैजान खोज्दा मंगलबार ६ वर्षीय नाबालिका घाइते भएकी छन् ।
पत्नीसँगको दाम्पत्य जीवनमा दरार उत्पन्न भएपछि विराटनगर महानगरपालिका–६ ब्रह्मपुराका किसन कामतले आफ्नी ६ वर्षीय छोरीलाई परिवारका सदस्य र गाउँलेको प्रयोग गर्दै प्रहरी कार्यालयको गेटबाटै लैजाने प्रयास गरेका हुन् । सधैं कुटपिट गर्ने र यातना दिने भन्दै पत्नी सुशीला मण्डल कामत उनलाई छाडेर साउन २ गते इनरुवास्थित दिदीको घरमा पुगेकी थिइन् । किसनले कुटपिट गरेका निलडाम र चोट समेत हात तथा शरीरका विभिन्न भागमा छन् ।


किसनले पत्नी हराएको भन्दै प्रहरीमा साउन ९ गते निवेदन दिएका थिए । त्यही विषयमा छलफल गर्न भन्दै मंगलबार दुवै पक्षलाई बोलाएर प्रहरीले महिला तथा बालबालिका सेलमा छलफल गरायो । छलफलमा दुवै जना अलग्गै बस्ने सहमति भयो । सुशीला आफ्ना बुवा श्रवण मण्डल, भाई वीरेन्द्र मण्डलसहित आफन्त लिएर प्रहरी कार्यालय गएकी थिइन् । आफ्नी आमा रेखा कामत र हजुरआमा धनेश्वरी कामतसहित गएका किसनका साथमा भने ठूलै दलबल थियो । किसनको पक्षमा गाउँलेहरु पनि प्रहरी कार्यालय पुगेका थिए ।
विराटनगर–६ रामपुर माइती भएकी सुशीलाले ८ वर्ष अघि किसनसँग प्रेम विवाह गरेकी हुन् । छलफलमा दुवै जना अदालतमा गएर कानुनी हिसावमै सम्बन्धको अन्त्य गर्ने सहमतिमा पुगेर प्रहरी कार्यालयबाट निस्किँदै थिए । तर छोरीलाई हातमा समाउँदै सुशीला गेटमा आइपुगेपछि भने त्यहाँ अच्चमको घटना हुन पुग्यो । किसनको पक्षमा प्रहरी कार्यालयमा पुगेको एउटा ठूलो भीडले ६ वर्षीय नाबालिका छोरीलाई तान्न थाल्यो ।
श्रीमती आफूसँग नबसे पनि छोरी भने राख्न पाउनु पर्ने किसनको दाबी थियो । त्यही दाबी अनुसार गेटमा भेलाजम्मा भएर बसेकाले नाबालिकालाई तान्न थालेका हुन् । नाबालिका छोरी भने आमा सुशीलातिरै जान बल गरिरहेकी थिइन् । यो घटना जिल्ला प्रहरीको सीसी क्यामेरा फुटेजमा पनि कैद छ । सुशीला र किसन पक्षबीच तानातान हुँदा नाबालिक घाइते भएकी छन् । उनको देव्रे हातको नाडी खुस्किएको प्रहरीले जनाएको छ । गेटमा परिचालित प्रहरीले घटना छुट्याएपछि लगत्तै शरण माग्दै सुशीला भने छोरी च्यापेर डाँको छाडेर रुँदै प्रहरी कार्यालय भित्रै पसिन् ।
घटनापछि नाबालिका आत्तिएर रोइरहेकी थिइन् । आत्तिएर र डराएर कोहीसँग पनि बोल्न नसक्ने अवस्थामा नाबालिका पुगेकी छन् । घटना लगत्तै प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना रहेको भन्दै किसन र उनको साथमा आएकाहरु त्यहाँबाट फरार भएका थिए । त्यो भीडमा रहेकाहरुले सुशीलाका बुवा श्रवण मण्डललाई मार्ने धम्की पनि दिएका छन् ।
सुशीलाका भनाई वीरेन्द्र मण्डलले कानुनले पनि नाबालक हुन्जेलसम्म बच्चालाई आमासँगै बस्न पाउने व्यवस्था गरेको तर जवरजस्ती लैजाने प्रयास गर्दा घटना भएको बताए । वीरेन्द्रले प्रहरी कार्यालयकै गेट अगाडिबाट अपहरण शैलीमा ठूलो भीडले नाबालिका भान्जीलाई नियन्त्रणमा लिएर लैजान खोजेको बताए ।
सुशीलाले नाबालिका छोरीलाई जवरजस्ती तानेर हात खुस्काइदिएको भन्दै पति किसन, आमा रेखा, हजुरआमा धनेश्वरीसहित घटनामा संलग्न विरुद्ध मंगलबारै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन् ।
नाबालिकाको भने विराटनगरमै उपचार भइरहेको छ । किसनले घरसायी झगडा भएको बताउँदै श्रीमती आफूसँग नबसेपछि छोरी राख्न पाउनु पर्ने दाबी गरे । उनले विगतमा श्रीमतीलाई नकुटेको दाबी पनि गरे ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले नाबालक हुनजेल आमासँग बस्न पाउने भएका कारण बाल अधिकार हनन् गर्ने गरी तानेर नाबालिकालाई घाइते बनाएको विषयमा अनुसन्धान सुरु गरिएको बताए । यसमा संलग्न सबै जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइने उनले बताए । खिउजुले नाबालक अवस्थामा सन्तान आमाकै संरक्षणमा हुने कुरा कानुनले पनि व्यवस्था गरेका कारण बुवाले मैले राख्छु भन्दैमा लैजान नपाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्