नोवेल अस्पतालमा फेरी अर्को लफडा : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप

नोवेल अस्पतालमा फेरी अर्को लफडा : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप

विराटनगर, १५ साउन । विराटनगरको नोवेल शिक्षण अस्पतालमा सामान्य प्रसूतिबाटै बच्चा जन्माएकी एक महिलाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका झुम्का –३ की ३४ वर्षीय पार्वती कार्कीलाई बुधबार विहान साढे तीन बजे अस्पतालले मृत घोषणा गरेको हो । ‘नर्मल डेलिभरी’ बाट दोस्रो सन्तान छोरी जन्माएकी उनको उपचारका क्रममा चिकित्सकले लापरबाही गरेका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । सुत्केरी मृत्युको बिषयलाई लिएर आज दिनभर नोबेल अस्पतालमा तनाव भएकोछ ।
घटनाको विरोधमा आफन्तले अस्पतालमा नारावाजी र प्रदर्शन गर्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाही हुनु पर्ने माग गरेका छन् । अहिले अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

पार्वतीलाई प्रसूतीका लागि सोमबार भर्ना गरिएको थियो । मंगलबार दिउसो १२ बजे उनले दोस्रो सन्तानका रुपमा छोरी जन्माइन् । तर रक्तश्राव अत्यधिक भएको भन्दै चिकित्सकले उनलाई दिउँसो २ बजे पाठेघरको शल्यक्रिया गर्नु पर्छ भन्दै अप्रेशन थिएटरमा लगेका थिए ।
शल्यक्रियापछि १५ पिन्ट रगत चढाएकी उनलाई बुधबार विहान भने अस्पतालले मृत घोषणा गरेको मृतकका भाई खेमराज राउतले बताए । ‘सामान्य प्रसूतिबाट बच्चा जन्माएकी महिलाको चिकित्सककै लापरबाहीले ज्यान गयो,’ उनले भने, ‘रगत अत्यधिक बगे पनि दुई घण्टासम्म चिकित्सकले वास्तै गरेनन् ।’ राउतले पाठेघरबाट धेरै रगत बगेको जानकारी गराउँदा पनि चिकित्सकले वास्तै नगर्दा मृत्यु भएको बताए ।
एक्कासी बेहोस भएपछि पाठेघरको शल्यक्रिया गर्नु पर्छ भन्दै अप्रेशन थिएटर तिर लगेको मृतकका परिवारको भनाई छ । शल्यक्रियाका क्रममा पनि त्रुटि भएको छ ।’ समयमै ध्यान दिएर चिकित्सकले उपचार सुरु गरेको भए सुत्केरीको मृत्यु नहुने मृतकका भिनाजु कृष्ण विष्टको भनाई छ ।
विष्टका अनुसार बच्चा जन्माएको केही समयपछि पार्वतीले खान समेत खान खोजेकी थिइन् । खाना खुवाउन खोज्दा उनी बेहोस भएर ढलिन् । बेहोस भएपछि मात्रै रगत धेरै बगेको भन्दै पाठेघर फ्याल्नु पर्ने भनेर चिकित्सकले लगेको उनको भनाइ छ ।
बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । श्रीमान दीपक कार्की वैदेशिक रोजगारीका लागि कतार गएका थिए । कार्की आफ्नो श्रीमतीको घटनाबारे जानकारी पाउनसाथ अहिले नोवेल अस्पतालमा आईसकेका छन् । कार्की दम्पत्तिको पहिलो सन्तान पनि ७ वर्षकी छोरी नै छिन् ।
यता अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले उपचारमा चिकित्सकका भनाई अनुसार कुनै लापरबाही नभएको बताए । अहिलेको प्रारम्भिक अध्ययन अनुसार अहिलेसम्म त्यस्तो लापारबाही भएको छैन ।
डेलिभेरीको केशमा ‘धेरै रगत बगेका कारण मृत्यु भएको जानकारी अस्पताल प्रशासनलाई चिकित्सकले गराएको दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्