जोगवनी नाकाबाट विराटनगर भित्रने लागु औषधको सञ्जाल पटनासम्म

जोगवनी नाकाबाट विराटनगर भित्रने लागु औषधको सञ्जाल पटनासम्म

विराटनगर, १६ साउन ।
नेपाल भारत सीमा क्षेत्र जोगवनीमा पछिल्लो समय लागुऔषध कारोवारीको संख्या बढ्दो छ । दैनिक जस्तो प्रहरीले बिभिन्न ठाउँबाट लागु औषधको कारोवारी पक्राउ गर्दै आएको छ । तर पक्राउ पर्ने अधिकांश साना खालका कारोवारी अर्थात आफुले प्रयोग गर्ने खालका ब्यक्ति मात्र रहेका छन् । प्रहरीले लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ठुला खालका ब्यापरी नै पक्राउ गर्न सकेको छैन । यसमा ठुलाखालका ब्यापारीको संलग्नता रहेको सुरक्षा श्रोत नै बताउँछ । केही दिन अघि मात्र सशस्त्र प्रहरीका सहायक हवल्दार लागु औषध सहित पक्राउ परेपछि ब्यापारीको संलग्नता रहेको दाबी गर्दै आएको सुरक्षा अधिकारीहरु सुरक्षाकर्मीको पनि संलग्नता हुन थालेको हो की भन्नेमा देखिएका छन् । तर यसरी कारोवार हुने लागु औषधको धन्दा नेपाल भारत सिमा क्षेत्र जेगवनी र रानीमा मात्र नभई पटना देखि नै यसको रुट रहेको बताईन्छ ।
यसरी शुरु हुन्छ लागुऔषधको रुट
बुधवार नेपाल भारत सिमा क्षेत्र जोगवनीबाट भारतीय सिमा सुरक्षा बल एसएसबीले २ जना भारतीय नागरिकलाई ठुलो परिमाणको लागु औषध सहित पक्राउ गर्यो । नाईट्रोशन १ हजार, नाईट्रोभेट ३ हजार, लुपिजेसिक, एभिल, लगायत १४७ र स्पास्मो प्रोक्सिभिन ७ हजार २ सय वटा पक्राउ गर्यो ।  यसरी पक्राउ परेका पुर्णियाका मोहम्मद वारिस अन्सारी र कलवा विसनपुरकी गायत्री देवी थिए । उनीहरुले यतिको ठुलो मात्राको लागु औषध भारतको पटनाबाट ल्याएको सुनाए । यो भन्दा अगाडि पनि पक्राउ पर्ने अधिकांशले पटनाबाट नै लागु औषध ल्याउने गरेको बताउँदै आएको एसएसबी बताउँछन । यस्ता लागु औषधको कारोवारीले पटनाबाट ब्यापारीको सहयोगमा ओसार पसार गर्ने गरेको र ती ब्यक्तिले जोगवनी नाकासम्म ल्याएको कतिपयले रकम लिने अनी कतिपयले आफैपनि ल्याएर सिमासम्म पुर्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।
लागु औषधको कारोवारीहरुले कतिपयले आफै सिमानाकासम्म ल्याउने गरेको पाईएको छ भने कतिपय अरुको भरियाको रुपमा समेत प्रयोग भएको पाईएको छ । भारतीय सिमा सुरक्षाबले पक्राउ गरेका ब्यक्तिहरुमा अधिकांशले पटनाबाट लागु औषध ल्याउने गरेको बताउने गरेको भारतीय सिमा सुरक्षा बल (एसएसबी) जोगवनीका बिओपी ईचान्र्ज प्रविणकुमार सिंहले बताए । पटनाबाट नेपालको सिमा नाका जोगवनी हूँदै नेपाल तर्फ बोर्डर पार गराउनको लागि समस्या हुने भएपछि ति कारोवारीहरुले टिकुलियाबस्तीमा लग्ने र त्यहाँ केही ब्यक्तिका घरमा राख्ने तथा राती, साँझ अथवा अनुकुलको समयमा बोर्डर पार गराउने गरेको समेत खुलेको छ ।
एसएसबीका जोगवनी बिओपी ईन्चार्ज सिंहका अनुसार, ‘यसरी पक्राउ परेकाहरुले पटनाबाट ल्याउने गरेको र टिकुलिया बस्तीसम्म पुर्याउने गरेको पाईएको छ । उनीहरुले त्यहाँबाट आबस्यकताका आधारमा नेपाल प्रवेश गराउने वा त्यहीँ किनबेच गर्ने गरेको समेत पाईएको छ ।’ ।

नेपाल प्रहरी भन्छ : छलेर भित्र्याउँछन्
भारतमा पक्राउ परेकाहरु झोलाका झोला लागु औषध सहित पक्राउ पर्छन् भने नेपालमा आउँदा त्यो संख्या घटेर पत्तामा वा गोलीमा झर्छ । सिमापारी कहाँबाट आउँछ र कहाँ जान्छ भन्ने बारेमा खासै चासो नराखेको नेपाल प्रहरीले नेपालमा भने लागु औषध ओसारपसार र कारोवार नियन्त्रणको लागि सिमा नाकामा कडाई गरेको जस्तो देखिन्छ । तर बेला बेला ठुला गाडीहरुमा नै लागु औषध भेटिने क्रमले भने प्रहरीलाई लागु औषध नियन्त्रण गर्न चुनौती देखिँदै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले सिमा क्षेत्रमा हुने लागु औषधको कारोवारीहरु प्रहरीको उपस्थिती कम भएको तथा भिडभाडको मौकाछोपी नेपाल कटाउने ध्याउन्नमा हुने गरेको बताउँछन् । तर त्यस्तो अबस्थामा पनि चेकजाँचलाई कडाई गर्ने गरिएको छ ।
हरेक दिन ईलाका प्रहरी कार्यालय रानीबाट ब्यक्ति पक्राउ पर्ने क्रमलाई हेर्दा लागु औषधको कारोवारमा बिभिन्न ब्यक्तिहरु संलग्न भएको हुनसक्ने बताईन्छ । गाडीका चालकदेखि सुरक्षा निकायका ब्यक्तिहरु नै संलग्न छन् की भन्ने समेत देखिन थालेको छ । केही दिन अघि पक्राउ परेका सशस्त्र प्रहरीका सहायक हवल्दार तथा लागु औषध सहित पक्राउ परेका ट्याङ्कर चालकहरुबाट नै लागु औषध बरामद हुनु र पक्राउ पर्नुले पनि लागु औषध नियन्त्रण चुनौती पुर्ण देखिएको खिउजु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्