ईन्सेकले प्रदान गर्ने प्रकाश मानव अधिकार पुरस्कार विराटनगरका गुरु बराललाई

ईन्सेकले प्रदान गर्ने प्रकाश मानव अधिकार पुरस्कार विराटनगरका गुरु बराललाई

विराटनगर,१६ साउन। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बार्षिक रुपमा प्रदान गर्दै आएको प्रकाश मानव अधिकार पुरस्कार गुरु बराललाई प्रदान गरेको छ ।
बिहिबार इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २७ औं स्मृति दिवसका अवसरमा २५ औं ‘प्रकाश मानव अधिकार पुरस्कार’ सामाजिक तथा राजनीतिक अभियन्ता गुरू बराललाई प्रदान गरेको हो ।
बराललाई एक नम्बर प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, इन्सेक अध्यक्ष डा. इन्दिरा श्रेष्ठलगायतले ताम्रपत्र, नगदसहित सम्मान गरे । पुरस्कार प्रदान गर्दै प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादर तुम्बाहाङले मानव अधिकारको क्षेत्र ब्यापक बन्दै गएको बताए ।
नेपालको इतिहासमा निमुखा वर्गका पुरूषले समेत भोट हाल्न नपाएको स्मरण गर्दै प्रा.डा. तुम्बाहाङले पछि आन्दोलनमार्फत पुरूषले भोट हाल्न पाए पनि महिलाले भोट हाल्न नपाएको बताए ।
मुख्यमन्त्री शेरधन राईले संविधानमै मौलिक अधिकारको व्यवस्था भएका नेपालको संविधान मानवअधिकारमैत्री भएको बताए । मुख्यमन्त्री राईले मानव अधिकारको पूर्ण प्रत्याभूति र संविधानमा व्यवस्था भएका कुराहरूलाई अक्षरशः पालना गर्दै जनताको अधिकार स्थापित गर्न प्रतिवद्घ रहेको बताए ।
पुरस्कार वितरण समारोहमा आफ्ना धारणा राख्ने क्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले इन्सेकले मानव अधिकारको क्षेत्रमा छुट्टै पहिचान बनाएका र मानव अधिकारको परिभाषालाई जीवन्त तुल्याउनेहरूलाई खोजी–खोजी पुरस्कार वितरण गरेर सिङ्गो मोतीमाला बनाउन लागेको बताए ।
इन्सेकका निर्वतमान अध्यक्ष सुवोधराज प्याकुरेलले पूर्ण मानव अधिकारकर्मी मात्र नभई अन्य क्षेत्रमा लागेर जनताको हक अधिकारका लागि जनतालाई नै परिचालन गरी मानव अधिकारको प्रत्याभूति गराउनेलाई पनि सम्मान गर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्