चीन पुगेर फर्किएका प्रदेश मन्त्री आङ्बोले भने, ‘चिनिया लगानीको संभावना बढ्यो’

चीन पुगेर फर्किएका प्रदेश मन्त्री आङ्बोले भने, ‘चिनिया लगानीको संभावना बढ्यो’

विराटनगर, १७ साउन । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चीन भ्रमणमा प्रदेशमा लगानी भित्र्याउनेबारे छलफल भएको जानकारी दिए। एकसाता लामो चीन भ्रमण पुरा गरी बिहीबार विराटनगर फर्केका मन्त्री आङ्बोले सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी र सफल भएको दावी गरे। ‘चीनको सबैभन्दा सुखी जनता बसोबास गर्ने सिचुवान र तीब्र आर्थिक विकास गरिरहेको सान्दोङ प्रान्तको भ्रमणबाट हाम्रो प्राथमिकता अनुसार कसरी उनीहरूको सहयोग ल्याउन सकिन्छ भन्ने विषयमा राम्रो छलफल भएको छ’ मन्त्री आङ्बोले भने,‘छिट्टै सुइफाको टोली प्रदेशमा लगानीको संभावनाबारे अध्ययन गर्न आउँदैछ।’

आफूहरूले प्रदेशमा लगानीको लागि प्रस्ताव गर्दा सरकारत्मक जवाफ पाएको उनले जानकारी दिए। चिनिया टोली छिट्टै प्रदेशमा लगानीको संभावनाबारे अध्ययन गर्न आउने र त्यसपछि लगानीको क्षेत्र तय हुने मन्त्री आङ्बोले जानकारी दिए। आफूहरूले खानेपानी, इलेक्ट्रोनिक्स र हाइड्रोमा लगानीको लागि आग्रह गरेको उनले बताए। लगानी गर्ने क्षेत्र खुम्चिँदै गएपछि पछिल्ला वर्षहरूमा चीनको आर्थिक वृद्धिदर निरन्तर खस्किँदै गइरहेकोले उनीहरूका लागि लगानी गर्ने क्षेत्रको आवश्यकता बढ्दै गएको पाइएको मन्त्री आङ्बोेको भनाइ छ।

चीनभित्र शुद्ध पानी उपलव्ध गराउँदै आएको व्यवसायिक समूहले प्रदेशका सुख्खाग्रस्त क्षेत्रहरुमा शुद्ध पिउने पानीको आपूर्तिको क्षेत्रमा पनि साझेदारी गर्न सकिने मन्त्री आङ्बोले बताए। त्यस्तै कृषि क्षेत्रमा पनि मिलेर काम गर्नसक्ने सम्भावना रहेको उनको भनाइ छ। प्रदेश सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको बेला भ्रमणले सुइफालगायत अन्य कम्पनीको लगानी ल्याउने वातावरण तयार पारेको र उनीहरूको भ्रमणपछि सम्झौता हुने विश्वास उनले व्यक्त गरे। भ्रमण टोलीमा सहभागी उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले चीनको प्रतिष्ठित कम्पनीसँगको साझेदारीको विषयमा छलफल गरी साझेदारीको आधार तयार हुनु सकारात्मक भएको बताए। नेपाली उद्योगीहरूको लगानीलाई प्रभावित नगर्ने कृषि लगायतको क्षेत्रमा साझेदारी गर्न सकिने सम्भावना देखिएको उनको भनाइ छ।

प्रदेश सरकारको तर्फबाट मन्त्री आङ्बो नेतृत्वको टोलीले चीनको औद्योगिक क्षेत्रको औपचारिक भ्रमण गरेको थियो। भ्रमण टोलीले चीनको सिचुवान र सान्दुङ प्रान्तको औद्योगिक क्षेत्रको स्थलगत अध्ययन र अवलोकन गरेका थिए। भ्रमण टोलीमा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियत, सांसदहरू सर्वध्वज साँवा, तेजमान कन्दङ्वा र विन्दिया कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल, मुख्यमन्त्री कार्यालयका उपसचिव टीकादत्त राई र मुख्यमन्त्रीका स्वकीय सचिव मकर खड्का पनि सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्