ताप्लेजुङको तिम्बुङ पोखरीमा मन्दिर निर्माणका विषयमा प्रदेशसभामा विरोध

ताप्लेजुङको तिम्बुङ पोखरीमा मन्दिर निर्माणका विषयमा प्रदेशसभामा विरोध

विराटनगर, १९ साउन । ताप्लेजुङ र पाँचथरको सिमानामा उच्च पहाडी भेगमा रहेको तिम्बुङ पोखरीकै अस्तित्व संकटमा पार्ने गरी मन्दिर निर्माण गरिएको भन्दै प्रदेश १ सरकारको ध्यानाकर्षण गर्दै यसको कार्यको विरोध भएको छ ।

उच्च भेगमा जैविकि विविधताले भरिएको पोखरीको अस्तित्व संकटमा पार्ने गरी मानव वस्तीसमेत नरहेको क्षेत्रमा मन्दिर निर्माण गर्दा बजेट सक्ने काम मात्र भएको भन्दै प्रदेशसभाको आइतबारको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले पोखरी पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको र खासगरी लिम्बू जातिमध्ये पनि बेखा समुदायको सांस्कृतिक पक्षसंग सम्बन्धित भएकोले त्यस स्थानलाई संरक्षण गर्नुपर्नेमा विष्णु मन्दिर निर्माण गरिएको बताइन । उनले भनिन्,‘‘मन्दिर निर्माणमा ५५ लाख खर्चनुभन्दा त्यसको संरक्षणमा काम गरेको भए हुने थियो ।’’ सांसद तुम्बाहाम्फेले यो स्थानबाट धेरै तल तल मात्र चौरीगोठ रहेको तर मानव वस्ती भने नभएको सदनलाई जानकारी गराइन ।

सांसद तुम्बाहाम्फेले यो कार्यको पर्यावरणीय दृष्टिले पनि ठिक नभएको भन्दै विभिन्न १८ वटा संघसंगठनले विरोध गरेको सदनलाई जानकारी गराइन । तिम्बुङको अर्थ लिम्बू भाषामा बन्दुकबाट निस्कने गुडुङडुङ जस्तै आवाज भन्ने बुझिने गरेको र पोखरी पनि बन्दुक जस्तै स्वरुपमा रहेको बताइन ।

सांसद तुम्बाहाम्फेका अनुसार मन्दिर सिदिङ्वा गाउँपालिकाको रु. ५ लाख र ५० लाख रुपैयाँ संघीय पर्यटन मन्त्रालयको बजेटबाट निर्माण भएको हो । भनिन्,‘‘पोखरीको नाम पनि फेर्ने षडयन्त्र भैरहेको छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्