विराटनगरमा ‘समयको हुरी’ कवितासङ्ग्रहको विमर्श

विराटनगरमा ‘समयको हुरी’ कवितासङ्ग्रहको विमर्श

विराटनगर, २४ साउन । कवि बाबुराम श्रेष्ठ ‘वर्षा’को ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको छ ।
चेतना संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार विराटनगरमा भएको कार्यक्रममा हालै प्रकाशित ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको हो । ३२ वर्ष प्रहरी सेवा काम गरेका कवि वर्षाको दसौं कृतिका रुपमा समयको हुरी पाठकमाझ आएको छ । कविताको समीक्षा गर्दै वरिष्ठ समालोचक दधिराज सुवेदीले वर्षा मूलत कवि भएको चर्चा गरे ।

सरल भाषाशैलीमा समसामयिक विषयलाई उठान गर्न सिपालु वर्षाले आध्यात्मिक र मातृभूमिप्रतिको स्नेहलाई सशक्त रुपमा उठाएको सुवेदीको भनाइ थियो । उनले कवितामार्फत कविले सत्तालाई समेत खबरदारी गरेको बताए । विभिन्न विषयलाई आधार बनाएर लेखेका ९३ वटा कविता छन् संग्रहमा ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राडा टंकप्रसाद न्यौपानेले वर्षाको कवितासंग्रह समयको हुरी आध्यात्मिक, सांस्कृतिक, जातीय, राष्ट्रिय भावनाले ओतप्रोत भएको बताए । प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले संग्रहका अधिकांश कविता लयात्मक भएकाले पाठकले मन पराउने दाबी गरिन् । उनले संग्रहमा समावेश भएका कविताले जनताका समस्यालाई सशक्त रुपमा उठान गरेको बताइन् । कवि एवं पत्रकार मीनकुमार नवोदितले वर्षाको कवितासंग्रहमा प्रचुर देशभक्ति भावना र जीवनको यथार्थता पाइने बताए । साहित्यकार राधिका गुरागाईंले कवितासंग्रह वर्तमान समयको प्रतिविम्बका रुपमा प्रस्तुत भएको उल्लेख गरिन् । संग्रहमा वरिष्ठ समालोचक प्राडा गोविन्दराज भट्टराईले भूमिका लेखेका छन् । वर्षाको यसअघि कविता, लेख, धार्मिकलगायतका ९ वटा कृति प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्