बिराटनगर हरेक बर्ष डुब्नुको कारण : तटबन्ध निर्माण नहुँदा बाढीबाट जनता प्रभावित

बिराटनगर हरेक बर्ष डुब्नुको कारण : तटबन्ध निर्माण नहुँदा बाढीबाट जनता प्रभावित

विराटनगर, साउन २६ गते । नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाममा केशल्या र सिङ्घीया नदीको बाढीका कारण विराटनगर महानगरपालिका जोखिममा पर्दै आएका छन् ।

यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा महानगरपालिकाका ६, ११, १२, १५ र १६ वडा बाढीबाट प्रभावित भएका हुन् । वर्षेनी खेतीयोग्य जमीन कटान गर्ने र बाढीको पानी गाउँशहर पस्ने समस्याको निराकरणका लागि महानगरको पश्चिमतर्फ रहेको केशल्या र पूर्वतर्फ रहेको सिङ्घीया नदीमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता देखिएको हो ।

केशल्या नदीको तटबन्धका लागि रु चार अर्ब २१ करोड ७० लाख ५६ हजार र सिङ्घीया नदीको तटबन्धका लागि रु एक अर्ब २१ करोड १६ लाख खर्च लाग्ने जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ ।

विगतमा केशल्या नदीअन्तर्गत केशल्याघाटदेखि सन्ठीयासम्म करीब एक किलोमिटर निर्माण गरिएको तटबन्धको तारजाली तस्करहरुले काटेर लगेपछि झन समस्या उत्पन्न भएको विराटनगर महानगरपालिका–६ का सत्यजीवन चौधरीले बताउनुभयो । यी दुबै नदीसँग जोडिएका बस्तीमा पानी पस्न नदिन तटबन्ध गर्नुको विकल्प नभएको स्थानीयवासी राजेश डङ्गोलले जानकारी दिनुभयो ।

नदी नियन्त्रणका काम दिगो रुपमा हुन नसकेपछि बाढीको समयमा सम्बन्धित कार्यालयले अस्थायी रुपमा गर्ने कामले खासै महत्व नहुने र यसबाट स्थानीय जनता पीडित हुनु परेकाले यसतर्फ सरोकारवाला निकायले समयमै गम्भीर हुनुपर्ने स्थानीयवासीको माग छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्