मुख्यमन्त्री कप फुटवल प्रतियोगितामा अनियमितता भएको लेखा समिति निष्कर्ष

मुख्यमन्त्री कप फुटवल प्रतियोगितामा अनियमितता भएको लेखा समिति निष्कर्ष

विराटनगर । मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा अनियमितता भएको भन्दै छानविन गरिरहेको प्रदेश सभाको सार्वजनिक लेखा समितिले फुटवल क्षेत्रका विज्ञसँग सोमबार छलफल गरेको छ ।  असार अन्तिम साता सम्पन्न प्रतियोगिताका क्रममा खेल नतिजा र आर्थिक दुवै तर्फ अनियमितता भएको भन्दै संसदमा कुरा उठेपछि समितिले छानविन गरिरहेको छ ।

सोमबार फुटबल खेलका विज्ञकोे रुपमा राष्ट्रिय खेलकुल परिषद्का पूर्व सदस्य तथा पूर्व अन्तराष्ट्रिय फुटबल रेफ्री किरण गिरी र अखिल नेपाल फुलबल संघ (एन्फा)का पूर्व उपाध्यक्ष सन्तोष बानियाँसँग छलफल गरेको हो । छलफलका क्रममा परिषद्का पूर्व सदस्य किरण गिरी र अखिल नेपाल फुलबल संघ (एन्फा)का पूर्व उपाध्यक्ष सन्तोष बानियाँसँग विभिन्न विषयमा प्रश्नहरु सोधिएको थियो । त्यस क्रममा पूर्व उपाध्यक्ष बानियाँले खेलकुद प्रतियोगिताको नतिजामै गडबडी भएकोले त्यससँग सम्वन्धित सबै कागजपत्रहरु झिकाएर गलत गर्नेलाई कारबाही गर्नु पर्ने बताए ।  समितिले खेलकुदको प्राविधिक पाटोहरुको विषयमा बढी जानकारी लिएको थियो । त्यस क्रममा राखेपका पूर्व सदस्य गिरीले असार महिनामा प्रतियोगिता गर्नुलाई अनियमितता गरेको अर्थमा लिन नमिल्ने बताएका थिए ।

उनले नतिजाको विषयमा कागजपत्रहरुको अध्ययन नगरेका कारणले सुनेका आधारमा मात्र ठिक बेठिक भन्नु उचित नहुने भन्दै कागजपत्रको अध्ययन पछि त्यस विषयमा जानकारी दिन सकिने बताए।  प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच समझदारी भई प्रतियोगिता सञ्चान गरिएको थियो । त्यसकालागि मन्त्रालयले एन्फालाई १ करोड रुपैयाँ उपलव्ध गराएको थियो । एन्फाले प्रदेशका १४ मध्ये ११ जिल्लालाई मात्र लिग सञ्चालन गर्न आर्थिक सहयोग दिएको विषयमा पनि प्रदेश सभा सदस्यहरुले गम्भीर चासो देखाएका थिए । त्यस क्रममा विज्ञको रुपमा उपस्थित हुनुभएका गिरीले एन्फाले आफ्ना ४७ सदस्य जिल्लाहरुमध्ये प्रदेश १ मा रहेका ११ वटालाई मात्र सहयोग उपलव्ध गराएको हुनसक्ने बताए ।

प्रत्येक जिल्लालाई ३/३ लाख रुपैंयाका दरले सहयोग उपलव्ध गराएको एन्फा प्रवक्ता किरण राईले यस अघि नै जवाफ दिएका थिए । तर सभापति शिवनारायण सिंह गन्गाईले भने अहिलेसम्मको अध्ययनमा ३ लाख दिएको भनिएका जिल्लाहरुले एक देखि डेढलाख रुपैयाँ मात्र लिएको जानकारी आएको भन्दै त्यस विषयमा थप छानविन गर्ने जानकारी गराएका छन् ।  प्रतियोगिता आयोजक लगायत विभिन्न पक्षहरुसँगको छलफल पछि समितिको सोमबारको बैठकले मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

समितिका सदस्य तुलसिप्रसाद न्यौपानेले प्रतियोगितामा हारेको टिमलाई जिताएको जस्ता विषयमा थप छानविन गर्ने र कारवाही सिफारिस गर्ने काम सामाजिक समितिको भएकोले अहिलेसम्मको निष्कर्शसहित बाँकी छलफल सामाजिक समितिले गर्ने गरी पठाउनु उपयुक्त हुने सुझाव दिएका थिए ।

उनकै सुझाव अनुसार सभापति शिवनारायण सिंह गन्गाईले आयोजकबाट खेल विवरण आएपछि सामाजिक समितिमा पठाउने र आर्थिक विषयको अध्ययन लेखा समितिले नै गर्ने जानकारी बैठकमा दिए । समितिको बैठकले आर्थिक मामिला मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा गरेको रकमान्तरको विवरणमा छलफल गर्ने जनाएको छ भने वार्षिक प्रतिवेदनमाथि पनि छलफल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्