विराटनगरको दुग्ध वितरण आयोजनामा नयाँ थर्मोकुल कन्टेनर निर्माणको काम सुरु

विराटनगरको दुग्ध वितरण आयोजनामा नयाँ थर्मोकुल कन्टेनर निर्माणको काम सुरु

विराटनगर, २७ साउन । दुग्ध वितरण आयोजना विराटनगरले उत्पादन गरेको बटर संरक्षणकालागि नयाँ थर्मोकुल कन्टेनर निर्माणको काम सुरु भएको छ । प्रदेश सरकारको अनुदान सहयोगमा लामो समयसम्म बटर(नौनी) सुरक्षित राख्न थर्मोकुल कन्टेनर निर्माण गरिएको हो ।
विराटनगर आयोजनासँग भएका कन्टेनरहरुको क्षमता कम हुँदा बढी बटर उत्पादन हुने सिजनमा हेटौंडा र काठमाण्डौमा लगेर राख्नुपर्ने समस्या थियो । राख्ने ठाउँको अभावमा विराटनगरले भोग्दै आएको समस्या अब कम हुने आयोजना प्रमुख निलकण्ठ गौतमले जानकारी दिए ।
आयोजनाले अहिले ५० हजार किलोग्राम बटर सुरक्षित राख्ने गरी नयाँ कन्टेनर बनाइरहेको गौतमले बताए । ‘एक हप्ता भित्रमा कन्टेनर तयार भइसक्छ, उनले भने, त्यसपछि हामीलाई पहिलेको जस्तो धेरै समस्या पर्दैन ।’
अघिल्लो वर्ष दुग्ध विकास संस्थानमा झण्डै ५ सय मेट्रिक टन बटर स्टक थियो । त्यतिबेला उत्पादन गरेको बटर सुरक्षित राख्न निकै हम्मे परेको थियो । त्यहि समस्याले गर्दा दूध संकलन र प्रशोधनमा पनि कटौती गर्नुपर्ने अवस्था आउने गरेको थियो । प्रदेश सरकारले विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर उत्पादन क्षमता विस्तारसँगै बटर उत्पादनमा हुने बढोत्तरीलाई सम्वोधन गर्न, बोइलर र आइस बैंकलाई समेत चुस्त राख्न भन्दै ५ करोड अनुदान सहयोग उपलव्ध गराएको थियो ।
आयोजनाले किसानले बेच्न चाहेजती दूध किन्नुपर्ने प्रदेश सरकारको सर्त स्वीकार गर्दै पाउडरप्लान्ट तथा प्रशोधन प्रणालीमा सुधारको काम अघि बढाएको छ । आयोजनाले सिजनमा मिल्क होलिडे नगर्ने सर्तमा अनुदान रकम लिएको हो । त्यहि रकमबाट आयोजनामा थर्मल कन्टेनर निर्माणको काम सुरु भएको हो ।
प्रदेश सरकारले दिएको रकमबाट आयोजनामा डिजल बोइलर स्थापना गरिने छ । अहिले भुस बोइलर चलाउदै आएको आयोजनाका विरुद्धमा स्थानीयले पटक पटक विरोध जनाएपछि भुस बोइलर हटाउने तयारी भएको छ । भुस बोइलरबाट निस्किने खरानीले नजिकका बस्तीहरुमा खरानी फैलिने समस्या थियो । डिजेल बोइलर भन्सारमा आइसकेको र केही दिन भित्रै आयोजनामा आइपुग्ने बताइएको छ । त्यसपछि नयाँ आइस बैंक जडान गर्ने र पाउडर प्लान्टको क्षमता विस्तारको काम असार मसान्त भित्रै सम्पन्न गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्