कोशी अञ्चल अस्पतालको मेसुमा डा लोहनी, अस्पतालको बेथिती हटाउने

कोशी अञ्चल अस्पतालको मेसुमा डा लोहनी, अस्पतालको बेथिती हटाउने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन (मेसु) मा नियुक्त भएका डा. गुणराज लोहनीले आइतबार पदभार सम्हालेका छन् ।
यस अघि अस्पतालमा हाजिर भए पनि उनले पदभार सम्हालेका थिएनन् । स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका डा. लोहनीले तीनै तहको सरकारको समन्वयमा अस्पतालको विकासमा ध्यान दिने बताए । संघीय सरकार मातहतमा यो अस्पताल भएको बताउँदै उनले काम गर्ने सिलसिलामा तीनै तहको सरकारसँग समन्वय हुने जानकारी दिए ।
अस्पतालमा देखिएका बेथिती तथा समस्या समाधान गर्ने प्राथमिकतामा राखेको बताउँदै उनले सर्वसाधारणको पहुँचमा पुग्ने र बिरामीको उपचारलाई सहज बनाउने तर्फ आफू केन्द्रीत हुने उल्लेख गरे । राष्ट्रिय बीमा बोर्डका कार्यकारी निर्देशकको जिम्मेवारी समेत वहन गरिसकेका उनले अस्पतालमा सेवा लिन पुग्ने बिरामी तथा अन्यको आकांक्षा बुझ्दै काम गर्ने उल्लेख गरे ।
अस्पतालमा हाल नेपाल सरकारतर्फबाट दुई सय ४९ र विकास समितिबाट दुई सय ६७ कर्मचारी तथा स्वास्थ्यकर्मीको दरबन्दी छ । जसमध्ये हाल करिब ५० दरबन्दी रिक्त छन् । जसमा एघारौं तहका ११ जना, नवौं र दसौं तहका २३ जना चिकित्सक र स्टाफ नर्स १० जनाको दरबन्दी खाली रहेको अस्पतालले जनाएको छ ।
यसअघि अस्पतालको मेडिकल सुपरिटेन्डेनमा बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्