विराटनगर । लागुऔषधको कुलतमा फस्नेमा बढी युवा पुस्ता रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले गरेको सर्वेक्षण अनुसार १६ देखि २५ वर्ष उमेर समूहका युवाहरू कुलतमा बढी लागेको पाइएको हो ।
मोरङ प्रहरीले १ हजार तीन सय ७६ जना लागूऔषध प्रयोगकर्ताहरूसँग गरेको सर्वेक्षणमा १६ देखि २५ वर्ष उमेरका ८ सय ३३ जना युवा लागूऔषध प्रयोग गर्ने भेटिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।
त्यस्तै २६ देखि ४० वर्ष उमेरसमूहका ५ सय ९ जना, १२ देखि १५ उमेर समूहका १२ जना, ४१ देखि ५० उमेर समूहका २४ जना र ५१ भन्दा माथि ३ जना लागूऔषध प्रयोगकर्ता भेटिएको अधिकारीले बताए ।
मोरङ प्रहरीले वैशाख २६ देखि साउन ३२ गतेसम्म ‘लागूऔषध विरूद्धको विशेष अभियान’ संचालन गरेको थियो । यो अभियान अहिले पनि विराटनगरस्थित रानीमा ‘क्यान’ सेन्टर खोलेर सञ्चालनमा छ। तीन महिनाको अभियानमा १६ देखि २५ वर्ष उमेर समूहका युवा बढी लागूऔषध प्रयोग गर्ने भेटिनुलाई पनि प्रहरीले आधार बनाएको छ ।
प्रहरीले प्रयोगकर्ताहरूमा गरिएको सर्वेक्षण अनुसार सबैभन्दा बढी मजदुरले लागुऔषध सेवन गर्ने गरेको भेटिएको छ । तीन महिनाको अवधिमा ५ सय ४४ जना मजदुर, २ सय ६१ जना चालक÷ सहचालक, १ सय ६८ जना व्यवसाय, १ सय ३६ जना विद्यार्थी र २६ जना कृषि पेशामा रहने लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले गरेको सर्वे अनुसार लागुऔषध बिक्रेताबाट प्रयोगकताहरूले लागुऔषध ल्याउने गरेका छन् ।
१ हजार ३ सय ६९ जनाले बिक्रेताबाट खरिद गरेर ल्याएका छन् भने ३ सय ८८ जनाले दुव्र्यसनी साथीभाईहरूबाट लागुऔषध लिने गरेका छन् । लागुऔषध प्रयोगकताहरूले पिडा र तनाव भुल्न तथा आनन्द प्राप्त गर्न लागूऔषध सेवन गर्ने गरेको खुलेको मोरङ प्रहरीका डिएिसपी घनश्याम श्रेष्ठले बताए ।