तीज भड्किलो बन्दै गएको हो त !

तीज भड्किलो बन्दै गएको हो त !

बिबिसी ।  विभिन्न जिल्ला प्रशासन कार्यलयहरूले तीज भड्किलो नबनाउन र मौलिक रूपमा तोकिएकै दिनहरूमा दर खाने कार्यक्रम आयोजना गर्न अनुरोध सहित गरि जारी गरेका सूचनाले महिलाहरूको व्यक्तिगत स्वतन्त्रताको हनन गरेको अधिकारकर्मीहरूले बताएका छन्।

कास्की, पाल्पा, काभ्रे लगायतका जिल्ला प्रशासानले सहरी क्षेत्रमा होटल, पार्टी प्यालेस लगायतमा तीजको दर कार्यक्रम राखिने गरेको र यसले विकृति ल्याएको भन्दै मौलिक रूपमा तीज पर्वलाई मनाउन सूचना प्रकाशन गरेका हुन्। साथै, यस विपरीत गरिएका कार्यक्रमहरूको निगरानी राखी कानुन अनुसार कारबाही गरिने सूचना प्रकाशित भएका छन्। पछिल्लो समय तीज मनाउने शैलीमा केही परिवर्तन आएको छ।

रातो पहिरनमा सजिएर तीजमा निराहार व्रत बस्नुको अघिल्लो दिन माइत गएर दर खाने चलन केही फरक भएको देखिन्छ।

अचेल महिलाहरू उनीहरूका साथी, सहकर्मी, विभिन्न समूह वा संस्थाहरूले एक महिनाअघि देखिनै आयोजना गरेका दर खाने कार्यक्रमा सामेल हुने गरेको देखिएको छ।

हरीकरण

पछिल्लो समय देखिएका यस्ता परिवर्तनका कारण केलाउँदै समाजशास्त्री निर्मला ढकाल भन्छिन्, "यसको मुख्य कारण सहरी जीवन शैली हो। एकल परिवारमा साना घरहरूमा बस्ने मानिसकहरूको संख्या सहरमा बढ्दै गएका छन्। सबैजनालाई घरमै बोलाएर खुवाउने समय र ठाउँ दुवैको अभाव हुँदै गएको छ। टुँडिखेलमा गएर मनाउने कुरा आएन त्यसैले सबै खानपान र नाचगानका लागि पार्टी प्यालेसनै उपयुक्त हुँदै गएको छ।"

यही विषयलाई लिएर कास्की जिल्ला प्रशासनले तीज आउन करिब महिना दिन बाँकी रहँदा नै दर खाँदा त्यसले चाडको मौलिकतामाथि आँच आएको भन्दै तडकभडक नगर्न, गरगहना प्रदर्शन नगर्न र साँगीतिक कार्यकम्र नगर्न सूचना प्रकाशित गरेको हो।

यस्तै होटल एवं पार्टी प्यालेसमा हुने दर कार्यक्रमले तीजको मौलिकता माथि प्रश्न उठाएको र यसले ध्वनि प्रदूषण समेत गराएको उक्त सूचनामा उल्लेख गरिएको छ।

प्रशासनले जारी गरेको सूचनालाई अटेर गरे कारबाही हुने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए, "चोक, चौतारामा नाच्ने कुरा चाहिँ मौलिक परम्परा अनुसार भएकाले दर खाने दिनमा यहाँ भेला भएर नाचगान गर्न पाइयो। तर तीजको नाममा सार्वजनिक आवागमननै अवरोध हुने गरी र हामीसँग अनुमति नै नलिइकन गरिएका कार्यक्रम गैरकानुनी हुन्। पर्‍यो भने त्यसलाई हामीले कारबाही गर्न सक्ने अवस्था हुन्छ।"

तर यस किसिमका सूचनाले महिलाको व्यक्तिगत स्वतन्त्रता हनन गरेको कतिपय महिला अधिकारकर्मीहरूले बताएका छन्।

त्यस्तै मध्येकी एक अमृता लम्साल भन्छिन्, "तीज मनाउने की नमनाउने, मनाउने भए कसरी मनाउने भन्ने कुरा हरेक व्यक्तिले आफैँ निर्णय गर्ने कुरा हो। समाजका केही व्यक्तिहरू 'पुलिस' भएर महिलाहरूलाई तिमिहरूले यस्तो लाउनु हुन्छ, यस्तो लाउनु हुन्न, खानु हुन्न, त्यहाँ जानुहुन्न भनेर सदियौँ देखि भन्ने गरेका छन्। त्यसैको निरन्तरता हो यो भन्ने लाग्छ मलाई। यसले महिलाको व्यक्तिगत चाहना र उनको स्वतन्त्रताको हनन गरेको छ।"

सहरी जीवन शैली र धेरै मानिसको आर्थिक स्तरमा आएको वृद्धिका कारण पछिल्लो समय थुप्रै मानिसहरूले जन्मदिनदेखि विभिन्न विदा मनाउने तरिकामा पनि परिवर्नत आएको समाजशास्त्रीहरू बताउँछन्।

अचेल मनोरन्जनका लागि घर बाहिर जमघट हुने सामान्य बनिसकेको छ। त्यही कारण सहर बजारमा पार्टी प्यालेस लगायत रेष्टुराँहरूको संख्या बढ्दै गएको छ।

त्यही परिवर्तनलाई महिलाले पनि आत्मसात गर्दै घरबाहिर आफ्ना साथीसंगीसँग केही बेर रमाइलो गरेको विषयलाई लिएर यसले समाजमै विकृति ल्यायो भन्न नमिल्ने अधिकारकर्मी निर्मला ढकालको भनाइ छ।

महिलाहरू आर्थिक रुपमा आत्मनिर्भर हुँदै गएकाले पनि उनीहरू आफ्नो रमाइलोका लागि समय र पैसा दुवै खर्च गर्न सक्ने भएका हुन् र त्यसैको कारण पनि तीजका कार्यक्रमहरु बढ्न थालेको भन्दै यसलाई नकारात्मक रुपमा लिन नहुने लम्सालले बताइन्।

"पहिला महिलाको हातमा खर्च पनि थिएन, घरको कामबाट कहिल्यै मुक्ति पनि पाउँदैनथे। अहिले उनीहरू काम पनि गर्छन् र दुईचार पैसा कमाउँछन्। अब उनीहरूले आफ्नो हिसाबले पैसा खर्च गर्न, रमाइलो गर्न किन नपाउने? महिलाले खाएरमात्र विकृति हुन्छ भन्ने सोच नै कहाँबाट आयो भन्छु म?"

त्यसो त तीजको समय किनबेच हुने गहना, कपडा र हुने अन्य कारोबारले अर्थतन्त्रलाई पनि चलायमान राख्न मद्दत गरेको कतिपय अर्थविदहरू बताउँछन्।

तर यसरी खर्च गर्दा देखासिकी नगरिकन सबैले आफ्नो हैसियत अनुसार गर्दा चाडपर्व बोझ नभइ सबैका लागि रमाइलो हुने उनीहरूको भनाइ छ।

"तीजमा गरिएको खर्च उत्पादनमूलक वस्तुमा हुन सके यसले अर्थतन्त्रलाई पनि फाइदा पुग्छ। सबैभन्दा ठूलो कुरा हामीले चाडपर्वलाई बोझिलो र खर्जिलो होइन सबैका लागि रमाइलो बनाउन सक्नुपर्छ." अर्थशास्त्री कुसुम शाक्यले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्