वासिङ्टन । ट्रम्प प्रशासनले बिहीबार संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी, युएसएड) को विघटन गर्ने क्रममा हजारौँ कर्मचारीमध्ये तीन सयभन्दा कम कर्मचारी मात्र राख्ने गरी विश्वभरका अमेरिकी सहायता परियोजनाहरूका लागि कर्मचारी सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना प्रस्तुत गरेको छ ।
बिहीबार साँझ सङ्घीय श्रमिक सङ्घहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कङ्ग्रेसको कानूमा निहित एजेन्सी बन्द गर्ने अधिकार नभएको तर्क गर्दै सङ्घीय अदालतमा विघटन कार्य रोक्न माग गर्दै मुद्दा दायर गरेका छन् ।
युएसएडका दुई वर्तमान कर्मचारी र एक पूर्व वरिष्ठ युएसएड अधिकारीले बिहीबार एजेन्सीका बाँकी वरिष्ठ अधिकारीहरूलाई प्रस्तुत गरिएको प्रशासनको योजनाबारे एसोसिएटेड प्रेसलाई जानकारी दिए । युएसएडका कर्मचारीहरूलाई उनीहरूको एजेन्सी बाहिरका कसैसँग कुरा गर्न प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशका कारण उनीहरूले नाम न छाप्ने सर्तमा बोलेका थिए ।
योजना अनुसार हाल आठ हजार प्रत्यक्ष नियुक्ति र ठेकेदारहरूमध्ये तीन सयभन्दा कम कर्मचारीलाई काममा राखिनेछ । उनीहरूले विदेशमा स्थानीय रूपमा नियुक्त गरिएका पाँच हजार अन्तर्राष्ट्रिय कर्मचारीको अज्ञात सङ्ख्यासँग मिलेर प्रशासनले हाललाई जारी राख्ने भनेका केही जीवन रक्षक कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।
तीन सय कर्मचारीमा कटौती स्थायी वा अस्थायी हुने तत्काल स्पष्ट भएको छैन । यसले ट्रम्प प्रशासनले पुनः सुरु गर्न चाहेका सहायता र विकास कार्यक्रमहरूको समीक्षापछि थप कर्मचारीलाई फर्काउन सक्ने सम्भावना छ ।
प्रशासनले यस हप्ताको सुरुमा विदेशमा तैनाथ लगभग सबै युएसएड कर्मचारीलाई शुक्रबारदेखि ३० दिनभित्र अमेरिका फर्कन निर्देशन दिएको छ । सरकारले उनीहरूको यात्रा र सरुवा खर्च बेहोर्नेछ । विशेष कठिनाई छुट नपाएका कर्मचारीहरूले लामो समय बस्न रोजेमा आफ्नै खर्च बेहोर्नुपर्ने हुनसक्ने कुरा बिहीबार साँझ युएसएडको वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार डोमिनिकन गणतन्त्रको भ्रमणका क्रममा अमेरिकी सरकारले विदेशी सहायता प्रदान गर्न जारी राख्ने बताउनुभयो । “तर यो विदेशी सहायता हाम्रो राष्ट्रिय हितसँग मेल खाने र अर्थपूर्ण हुनेछ”, उहाँले पत्रकारहरूलाई भन्नुभयो ।
ट्रम्प प्रशासन र बजेट कटौती गर्ने सरकारी दक्षता विभाग सञ्चालन गरिरहेका अर्बपति सहयोगी एलन मस्कले सङ्घीय सरकार र यसका धेरै कार्यक्रमको अभूतपूर्व चुनौतीमा अहिलेसम्म युएसएडलाई सबैभन्दा बढी लक्षित गरेका छन् ।
ट्रम्पको जनवरी २० को शपथग्रहणयता व्यापक वित्तीय रोकले विश्वभरका एजेन्सीका अधिकांश कार्यक्रमहरू बन्द गरेको छ र लगभग सबै कर्मचारीलाई प्रशासनिक बिदा वा अवकाशमा राखिएको छ । मस्क र ट्रम्पले युएसएडलाई स्वतन्त्र एजेन्सीका रूपमा हटाउने र जीवित कार्यक्रमहरूलाई विदेश विभागअन्तर्गत सार्ने कुरा गरेका गर्नुभएको छ ।
डेमोक्रेटिक सांसदहरू र अन्यले कांग्रेसको स्वीकृति बिना यो कदम गैरकानूनी भएको बताएका छन् ।
अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट एम्प्लाइजले आफ्नो मुद्दामा यही तर्क दिएका थिए । मुद्दामा वासिङ्टनको सङ्घीय अदालतलाई युएसएडका भवनहरू पुनः खोल्न, कर्मचारीहरूलाई काममा फर्काउन र वित्तीय सहायता पुनस्र्थापना गर्न बाध्य पार्न माग गरिएको छ ।
सरकारी अधिकारीहरूले ‘अमेरिकी कामदारहरू, विश्वभरका लाखौँ मानिसहरूको जीवन र अमेरिकी राष्ट्रिय हितसँग सम्बन्धित उनीहरूका कार्यहरूको विनाशकारी परिणामलाई स्वीकार गर्न असफल भए’, मुद्दामा भनिएको छ । रासस/एपी