विराटनगर । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिले आज विविध कार्यक्रम सम्पन्न गरेको छ । 
विराटनगर स्थित कोशी अञ्चल अस्पतालको सरसफाई गर्नुका साथै अस्पतालका सवै विरामीलाई फलफुल वितरण गरेको छ। नेपाली कांग्रेस मोरडका सभापति डिगवहादुर लिम्वुले बीपीको योगदान र उनका भनाइलाई कांग्रेसले आत्मसाथ गर्दै अगाडी बढ्नु पर्ने बताए । नेपाली कांग्रेस नगरका सभापति तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले बीपीको विचार आजपनि उत्तिकै सान्दर्भिक रहेको भन्दै यसमा सवै कांग्रेसीजन गोलवद्ध भएर हिड्न आबश्यक रहेको औल्याए । उनले विराटनगरको विकासमा सवैको खवरदारी र सुझाव आबश्यक रहेको बताए । 
कार्यक्रममा नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे , कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपाने, सचिव प्रकाश दाहाल ,निरज कोइराला , लगायतका ब्याक्तिहरुले बीपी जन्मजयन्ती र यस अबसरमा गरिएका कामका बारेमा धारणा राखेका थिए ।
वीपीको जीवन
पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए ।
कोइरालाले साथीहरुसँग मिलेर वि.सं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकिकरण गरी कोइराला सभापति बनेका थिए । उनी वि.सं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रीपरिषदमा गृहमन्त्री बनेका थिए । वि.सं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जन निर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा वि.सं १०१७ पुस १ गते तत्कालिन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि वि.सं २०१७ देखि २०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।