तीजको अवसरमा छ सय एकल महिलालाई सुनसरीमा सम्मान

तीजको अवसरमा छ सय एकल महिलालाई सुनसरीमा सम्मान

सुनसरी । तीजको अवसर पारेर सुनसरीका ६ सय एकल महिलालाई एकै स्थानमा भेला पारी सम्मान गरिएको छ । महिला शशक्तिकरणको मुख्य मुद्दा लिएर समाजसेवा सँगै राजनीति गर्दै आइरहेकी नेकपाकी नेतृ भगवती चौधरीले मंगलबार ती महिलालाई सम्मान गरेकी हुन् ।
दिनेश चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा ६ सय जना महिलालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सम्मान गरिन् ।
अरुबेला एकल महिला अर्थात विधवा भनेर सामाजिक तथा पारिवारिक रुपमा तिरस्कृत भइरहेका महिला दिदिबहिनीहरुलाई स्टेजमै बोलाएर सम्मान गर्न पाउँदा महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापा समेत खुसी थिईन्् । ‘सरकारले गर्न नसकेको काम भगवती जीले गर्नुभएको छ । एकल महिलालाई सामाजिक रुपमा सम्मानीत गर्ने काम भयो, उहाँ (भगवती) जीलाई धन्यवाद दिन चाहन्छु, ’ मन्त्री थापाले भनिन् ।
उनले सरकारले महिला, एकल महिला तथा जेष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम ल्याएको बताउँदै बर्तमान सरकार महिला अधिकारका सवालमा सकारात्मक रहेको बताइन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी मन्त्री थापाले नेपाली समाजको बनावट पितृसत्तात्मक सोचको अवधारणाबाट बनेको हुँदा महिलाहरु पिडामा रहेको बताउँदै शिक्षामा महिलाहरुको समान अवसर र बिकासमा जोड दिनुपर्ने औंल्याइन् ।
उनले समाजमा महिला पुरुष बीच असमानताको ठूलो खाडल रहेको र त्यसलाई सच्याउनु पर्ने भन्दै यस्तै सामाजिक कामले महिला पुरुष विचको असमानता अन्त्य हुने बताइन् । मन्त्री थापाले दिनेश चौधरी स्मृति प्रतिष्ठानले समाज परिवर्तनका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी पाउँदा आफुलाई असाध्यै खुसी लागेको बताइन् ।
उनले भगवती चौधरीको नेतृत्वमा भएको सामाजिक कामले सिंगो नेपाली समाज लाभान्वित भएकाले समाजमा रहेका सबैले भगवती चौधरीको कामबाट सिक्नुपर्ने समेत बताइन् ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानकी संरक्षक भगवती चौधरीले आफ्ना श्रीमान दिनेश चौधरीले अकल्पनिय दुर्घटनाबाट जीवन गुमाउनु पर्दा समाज र राष्ट्रले समेत होनहार युवा गुमाएको बताइन् । स्वर्गिय दिनेश चौधरीको ब्यक्तित्वको स्मरण गर्दै चौधरीले स्व.दिनेश चौधरीमा समाजसेवा, महिला शशक्तिकरण तथा आफ्नो जाती र समुदायको उत्थानका लागि काम गर्ने सकारात्मक सोच रहेको बताइन् ।
अल्पायुमा सडक दुर्घटनामा परेर दिवंगत भएका दिनेश चौधरीकै परिकल्पनामा फरवार्ड नेपाल, फरवार्ड बचत तथा ऋण सहकारी संस्था मार्फत महिलालाई आर्थिक क्षेत्रमा पहुँच पुर्याउने अभियान थालिएको स्मरण गर्दै चौधरीले भनिन्–‘यदि उहाँले मलाई अगाडी सारेर फरवार्ड नेपाल र फरवार्ड बचत सुरु नगरेको भए यो क्षेत्रका महिला दिदिबहिनीहरु अझैपनि आर्थिक तथा सामाजिक रुपमा पछि हुनुहुन्थ्यो । अहिले फरवार्ड माइक्रोफाइनान्स ४० जिल्लामा अढाइ लाख महिला दिदिबहिनीहरु माझ पुग्न सक्नुमा उहाँको मार्गदर्शन नै मुख्य आधार हो ।’
कार्यक्रममा दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले साहसिक तथा प्रगतिशिल सिद्धान्त बोकेका सामाजिक अगुवा दिनेश चौधरीको असामयीक देहावसान हुँदा समाजले होनहार, दुरदृष्टा, सहकारी अभियन्ता गुमाएकोमा दुखः प्रकट गरे ।
फरवार्ड माईक्रोफाईनान्सका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले दिनेश चौधरीको सोच र भिजनका कारण धेरै युवाहरु सामाजिक र आर्थिक क्षेत्रमा अगाडी बढिरहेको स्मरण गर्दै आफु समेत दिनेश चौधरीकै विचार र सिद्धान्तबाट अगाडी बढ्न सकेको बताए । उनले दिनेश चौधरीको सोचबाट दिशानिर्देश भएको वित्तीय संस्था नेपालको ४० जिल्लाका १४१ शाखा कार्यालयमार्फत् २ लाख ४७ हजार ग्राहक सदस्यहरु माझ लघुवित्त सेवा प्रदान गर्न सफल भएको जानकारी दिए ।
कार्यक्रममा सुनसरीका विभिन्न गाउँ र वडाबाट आएका ६ सय बढि एकल महिलालाई कदरपत्र, दोसल्लाले सम्मान गरिएको थियो । समाजमा एकल महिला भनेर विभिन्न प्रकारका घरेलु हिँसाबाट पिडीत महिलालाई सामाजिक रुपमा अगाडी बढाउन दिनेश चौधरी स्मृति प्रतिष्ठानले उक्त कार्यक्रम गरेको थियो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, गढी गाँउपालिका र बर्जु गाँउपालिकाका ८५ वर्षिय एकल महिला समेतको उतसाहपूर्ण सहभागीता थियो । ग्रामीण महिला उत्सुकता बिकास मञ्च (फरवार्ड) का महासचिव हिरा कुमारी थन्दारले स्वागत मन्तब्य राखेको कार्यक्रममा दुहवी नगरपालिकाका उपमेयर सुनिता दाहाल साह, इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रबिन कार्की, वित्तीय संस्थाका कम्पनी सचिव कृष्णप्रसाद भट्टराई, ग्रामीण महिला उत्सुकता विकास मञ्चका उपाध्यक्ष कलावती चौधरी, सचिव ललिता चौधरी, फरवार्ड बचत सहकारीका लक्ष्मीकृष्ण श्रेष्ठ लगायत राजनीतिक दल, समाजसेवी, उद्यमी महिला लगायत समाजका बिभिन्न क्षेत्रका सात सय भन्दा बढीको सहभागिता रहेको फरवार्डका कानुनी सल्लाहकार बिनोद चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्