लक्ष्मीमार्ग गोल्डकपको पुरस्कार राशि बढाइयो, प्रतियोगिता असोज ४ देखि हुने

लक्ष्मीमार्ग गोल्डकपको पुरस्कार राशि बढाइयो, प्रतियोगिता असोज ४ देखि हुने

विराटनगर । असोज ४ बाट प्रतियोगिताको तेस्रो संस्करण हुँदै विराटनगर तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर बढीले बढाइएको छ ।
पूर्वकै चर्चित मध्येको यस प्रतियोगिताको तेस्रो संस्करण आगामी असोज ४ देखि ११ गतेसम्म आयोजना हुँदैछ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित मैदानमा डाँगीहाट युथ क्लबले आयोजना गर्ने प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले पाउने पुरस्कार रकम बढाइएको हो ।
यस वर्ष प्रथम हुने टिमले पाँच लाख र द्धितिय हुने टिमले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष विक्रम वान्तवा राईले बताए । गत वर्ष सम्पन्न दोस्रो संस्करणमा प्रथम हुने टिमलाई दुई लाख २२ हजार र द्धितिय हुने टिमलाई एक लाख ११ हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो । यस वर्ष मुख्य प्रायोजक बुद्ध एयरले पाँच लाख र सहप्रायोजक टुबोर्ग वियरले तीन लाख रुपैयाँ सहयोग गर्ने छन् ।त्यस बाहेक विभिन्न संघ संस्था, स्थानीय तह, लक्ष्मीमार्गका स्थानीय तथा विदेशमा बसोबास गर्दै आएकाहरुले सहयोग गर्ने अध्यक्ष राईको भनाइ छ ।
तेस्रो संस्करणका बारेमा जानकारी दिन सोमबार लक्ष्मीमार्गमा आयोजित पत्रकार सम्मेलनमा राईले खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रतियोगितालाई निरन्तरता दिइएको बताए । उनले यस प्रतियोगितासँगै मोरङमा २०७६ सालको गोल्डकपको सुरुवात हुने पनि बताए ।
फुटबलको विकास र राष्ट्रका गहनाका रुपमा चिनिने खेलाडी उत्पादनका लागि स्थानीय स्तरमै सहयोग जुटाउँदै प्रतियोगिता आयोजनाको तयारीलाई तीव्र पारिएको उनको भनाइ छ ।
प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा विभिन्न टिममार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी र ‘ए’ डिभिजन टिमले सहभागिता जनाउने जानकारी राईले दिए ।
उनका अनुसार झापा–११, नेपाल पुलिस क्लब, एपीएफ काठमाडौं, रोयल क्लब भारत, रुपन्देही–११, आयोजक मोरङ, सुनसरी–११ र मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंले प्रतियोगितामा सहभागिता जनाउने छन् । मोरङ फुटबल एकेडेमी उर्लाबारी गत वर्षको विजेता टिम हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नियम अनुसार ‘घ’ श्रेणीमा प्रतियोगिता परेका कारण यस गोल्डकपमा गतवर्षको विजेता टोलीलाई समेट्न नसकिएको जानकारी अध्यक्ष राईले दिए । गतवर्ष मोरङले झापाको बिर्तामोडलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो । यसपटक मोरङका खेलाडीलाई समेट्दै आयोजक डाँगीहाट युथ क्लबले सहभागिता जनाउने अध्यक्ष राईले स्पष्ट पारे ।
प्रतियोगिता सञ्चालनका लागि मैदान व्यवस्थापन तथा दर्शकको सुरक्षा र उपस्थितीलाई मध्यनजर गर्दै प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ । खेल सफल पार्न विभिन्न उपसमिति गठन गरिएका छन् ।
प्रतियोगितामा म्यान अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट डिफेन्स, विङ्स, फरवार्ड, गोलरक्षक, मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईले बताए । यस वर्ष ३३ लाख आम्दानी र ३१ लाख चार हजार रुपैयाँ खर्च हुने हुने अनुमान आयोजकले गरेको छ ।
गत वर्ष प्रतियोगिताबाट एक लाख पाँच हजार रुपैयाँ नाफा भएको थियो । प्रतियोगिताबाट भएको नाफा रकम क्लबको भवन निर्माणमा लगाइएको छ । यस वर्षको प्रतियोगिताबाट प्राप्त मुनाफा खेलाडी एवं खेलकुद क्षेत्रको विकासमा लगाइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्