मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज हुने

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज हुने

भउचप्रसाद यादव

काठमाडौँ, भदौ २४ गते । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मङ्गलबार हुने भएको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नुहुने छ ।
मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र उहाँका भारतीय समकक्षी मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट एकैसाथ पेट्रोलियम पाइपलाइन उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पेट्रोलियम पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार दुवै मुलुकका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन गर्नुहुने छ ।
रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुल्ने छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु हुने छ । यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ । उद्घाटनसँगै विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाउने छ ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले उद्घाटनसँगै सो पाइपलाइन हुँदै भारतबाट नियमित पेट्रोलियम पदार्थ आपूर्ति सुरु हुने जानकारी दिनुभयो । दुवै मुलुकका प्रधानमन्त्रीले रिमोट थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुने छ ।
परीक्षणका क्रममा पाइपलाइनमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्नेबित्तिकै अमलेखगन्जमा तेल आइपुग्ने छ । पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने छ । गत साउन २ गते पहिलो पटक मोतिहारीबाट पाइपलाइन हुुँदै अमलेखगन्ज डिपोमा डिजल आइपुगेको थियो । मोतिहारीबाट हालिएको हजार किलोलिटर डिजल १८ घन्टापछि अमलेखगन्ज डिपोमा आइपुगेको थियो ।

सुरक्षाको जिम्मा सेनालाई
नेपाल र भारतबीचको मित्रताको प्रतीकका रूपमा समेत रहेको पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । पाइपलाइनको नेपालतर्फको ३७.५ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिनुभयो । उक्त पाइपलाइनको सुरक्षाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रक्षा मन्त्रालयलाई पठाएको प्रस्ताव स्वीकृत भएसँगै पाइपलाइन सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको हो ।

अब ढुवानी बचत
मुलुककै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै वार्षिक करिब ५० करोड रुपियाँ ढुवानी खर्च बचत हुने नेपाल आयल निगमले जनाएको छ । भारतबाट आयात गरिने ७० प्रतिशत इन्धन रक्सौल–अमलेखगन्ज हुँदै नेपाल भित्रिने गर्छ । अहिले निगमले प्रतिलिटर दुई रुपियाँ पचास पैसा ट्याङ्करलाई भाडास्वरूप तिर्दै आएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरको दूरीमा पाइपलाइन बिछ्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्