गरिखानेको कथा : इलाममा फूल खेतीबाट नै जीवन गुजारा गर्दै महिलाहरु

गरिखानेको कथा : इलाममा फूल खेतीबाट नै जीवन गुजारा गर्दै महिलाहरु

कोकिला ढकाल

इलाम, भदौ २६ गते । चार वर्षअघि फूल खेती सुरु गरेकी इलाम नगरपालिका–६, पानी ट्याङ्कीकी बुद्धमाया सोङ्मीको नर्सरीमा अहिले पनि करिब आठ लाख रुपियाँको फूल बिक्रीका लागि तयारी अवस्थामा छ । अर्किट, इन्जेलिया, केमेलिया, धूपीलगायतका विभिन्न जातका फूलका बिरुवा सोङमीको नर्सरीमा छन् । त्यसबाहेक सदरमुकामस्थित ‘भ्यूटावर’ सञ्चालन गर्दै आएकी सोङ्मीले भ्यूटावर वरपर नै फूल सजाउनुभएको छ ।

‘ग्रिन हाउस’ निर्माण, फूलका बीउ र बिरुवा खरिद गरेर डेढ लाख रुपियाँको लागतमा सुरु गरिएको ‘भ्यूटावर फूल नर्सरी उद्योग’ अहिले साँच्चै फूल उद्योग नै बनेको छ । घुम्नका लागि यहाँ आइपुग्नेहरूले लाने मुख्य कोसेली फूल नै हो, सोङ्मी भन्नुहुन्छ, यहाँ घुम्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रूपमा फूल लिएर जान्छन् । उहाँ १५ रुपियाँदेखि पाँच हजार रुपियाँसम्मको फूल बिक्री गर्नुहुन्छ ।
नर्सरीमा सिजनअनुसारको फूल उत्पादन हुन्छ भने सङ्घ–संस्था र कार्यालयहरूले माग गरेअनुसारका फूल पनि यहीँबाट जाने गरेको छ । यसबाट सोङ्मीले मासिक २० हजारदेखि ७० हजार रुपियाँसम्म आम्दानी हुने गरेको बताउनुभयो । उहाँले तीन जनालाई रोजगारीसमेत दिनुभएको छ । इलामकै तारा गुरुङ पनि फूल खेतीबाट निकै सन्तुष्ट बन्नुभएको छ । बिरुवा उत्पादन र बिक्री गर्दै आउनुभएकी गुरुङले फूल खेतीबाट आम्दानी राम्रो भएपछि यसलाई निरन्तरता दिएको बताउनुभयो । विशेष गरी भारतबाट विभिन्न जातका बिरुवा ल्याएर त्यसैबाट अन्य बिरुवा तयार गरी बिक्री गर्ने गरेको गुरुङ बताउनुहुन्छ । सोङ्मी र गुरुङ मात्र होइन जिल्लाका अन्य केही महिलाले पनि फूल खेतीलाई व्यावसायिक बनाउँदै आम्दानीको बलियो स्रोत बनाउनुभएको छ ।

पशुपतिनगर, फिक्कल, गोदक, भन्ज्याङ, राक्सेलगायतका स्थानमा व्यावसायिक रूपमै फूल खेती भइरहेको छ । जिल्लामा भित्रने पर्यटकहरू बढ्न थालेपछि पर्यटकलाई केन्द्रित गर्दै फूल खेती सुरु गरिएको व्यवसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्