ताप्लेजुङका सामुदायिक वनमा वन्यजन्तु संरक्षणका कृत्रिम पोखरी निर्माण

ताप्लेजुङका सामुदायिक वनमा वन्यजन्तु संरक्षणका कृत्रिम पोखरी निर्माण

ताप्लेजुङ । खानेपानी तथा बासस्थानको अभावले जंगली जनावर लोप हुन थाले पछि ताप्लेजुङका सामुदायिक वनमा कृत्रिम पोखरी निर्माण गर्न थालिएको छ । पछिल्लो पटक जिल्लाका ८ स्थानमा कृत्रिम पोखरी निर्माण भएका छन् । यहाँका क्रियाशील सामुदायिक वनसँगको साझेदारीमा हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र तीनजुरे मिल्के जलजले क्षेत्र संरक्षण आयोजनासँग मिलेर पोखरी निर्माण गरेको हो ।

उक्त संस्थाले सिरिजंघा गाउँपालिकाको मामाङ्खे, सिकैचा र फुङलिङ नगरपालिकास्थित फावाखोलामा पोखरी निर्माण गरेको छ । यस्तै  मिक्वाखोला गाउँपालिकाको पापुङमा चार ओटा र मैवाखोला गाउँपालिकाको साँघुमा समेत पोखरी निर्माण गरिएको छ । वन्यजन्तु विस्थापित हुने मात्रै नभई मर्नेसम्मको समस्या देखिएपछि कृत्रिम पोखरी निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । उनका अनुसार संखुवासभाको चैनपुरमा र तेह्रथुमको मेन्छायम नगरपालिकामा समेत पोखरी निर्माण भएको छ ।  यसअघि ताप्लेजुङका २ स्थानमा पोखरी निर्माण भएको थियो । पोखरी निर्माणपछि ती क्षेत्रमा राम्रो परिणाम देखिएपछि थप पोखरी बनाइएको र आगामी दिनमा समेत यसलाई अघि बढाउने योजना गरेको राईको भनाइ छ । पछिल्लो समयमा अवैज्ञानिक तवरले भइरहेको विकासे गतिविधिले पानीका मुहानहरू सुक्दै जाँदा पशुप्राणीलाई पानीको अभाव देखिन थालेको वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्ने संघसंस्थाको भनाइ छ ।

ताप्लेजुङमा रेडपाण्डा, हिउँ चितुवा, बाघ, भालु, कस्तुरी र नाउर लगायतका वन्यजन्तु पाइन्छ । चोरी शिकारीको चपेटामा पर्दै आएका लोपोन्मुख वन्यजन्तु अवैज्ञानिक तवरले भइरहेका विकास निर्माणका गतिविधिले झर्दै समस्यामा पर्दै आएको सरोकारवाला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्