बेलबारी गोल्डकपः फाइनलमा भारत र धरान भिड्ने

बेलबारी गोल्डकपः फाइनलमा भारत र धरान भिड्ने

विराटनगर ।  मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लब भिड्ने भएका छन् ।
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै भारतले उपाधिभिडन्तका लागि धरानसँगको भेट पक्का गरेको हो ।
नेपाली खेलाडीले भरिएको भारतीय टिमको जितमा निशान्त लिम्बूले दुई र सञ्जय सुब्बाले एक गोल गरे । अत्यन्तै कमजोर प्रदर्शन गरेको एपीएफलाई रोक्ने क्रममा भारतले तीनवटै गोल मध्यान्तरपछि गरेको हो ।
मध्यान्तर अघिसम्म रोके पनि एपीएफले लय गुमाउँदा मध्यान्तरपछि भारत हावी बन्यो । भारत यस अघि अर्को विभागीय टोली नेपाल पुलिस क्बललाई पराजित गरेर सेमिफाइनल पुगेको थियो ।
सेमिफाइनल यात्रा तय गर्ने क्रममा एपीएफले झापा–११ लाई क्वार्टरफाइनलमा पराजित गरेको हो । सेमिफाइनलमा भने खेलाडीबीच तालमेल मिलाउन नसकेको उसको प्रदर्शन खेल अवधि भरनै कमजोर रहयो । राजन गुरुङले चित्तबुझ्दो प्रदर्शन गरे पनि राष्ट्रिय टिमका राजेन्द्र रावल जम्न नसक्नु एपीएफका दुर्भाग्यपूर्ण बन्यो ।
खेलको म्यान अफ दी म्याच भारतका निशान्त लिम्बूले पाँच हजार नगद पुरस्कार पाए । प्रतियोगिताको फाइनल खेलमा आगामी शनिबार हुनेछ । आयोजकका समितिका संयोजक एवं डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईकाअनुसार फाइनल शुक्रबार हुने घोषणा गरिए पनि प्राविधिक कारण शनिबारका लागि सार्नु परेको हो । प्रतियोगिताको बिजेताले ५ लाख र उप बिजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्