पर्यटन बर्ष २०२० बिशेष : पर्यटक लोभ्याउने इलामको मौसम र मनमोहक वातावरण

पर्यटन बर्ष २०२० बिशेष : पर्यटक लोभ्याउने इलामको मौसम र मनमोहक वातावरण

कोकिला ढकाल

इलाम, असोज १२  गते । असोज महिना शुरू भएसँगै आकाश उघ्रिएपछि इलामको अन्तुमा सूर्योदयको दृश्य मनमोहक हुन्छ । यो समय शुरु भइसकेको छ । गत वर्षहरुभन्दा यो वर्ष अन्तु पुग्ने पर्यटकले यसपटक केही फरक र अझ सुन्दर अन्तु पाउनुहुन्छ । दशैँ, तिहार र छठको उत्सवसँगै फुर्सदिला बनेका तराई र पश्चिमी जिल्लाका आन्तरिक पर्यटकका लागि अन्तु निकै प्रिय लाग्ने छ ।
सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तु मात्रै होइन, इलाम जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर पनि पर्यटकले छुटाउनै नहुने सूचीमा पर्न थालिसकेको छ । माइपोखरी, छिन्टापु, फुस्रे पोखरी, टोड्के झर्ना, सेतीदेवी भालुढुङ्गा, इलाम बजार, कन्याम, पशुपतिनगर फिक्कल लगायतका पर्यटकीय क्षेत्र इलामका थप गन्तव्य स्थल हुन् । यिनमा पर्यटकको चलहपल
बढेको छ ।

विहानको झिसमिसेमै सूर्योदयको दृश्यावलोकन, झुल्के घामसँगेै अन्तु पोखरीमा डुङ्गा सयर, ‘होमस्टे’ को खाना र बेलुकाको बास यहाँ आउने पर्यटकका लागि मुख्य आकर्षण हुन् । सूर्योदयको दृश्यावलोकनपछि अन्तु पोखरीमा डुङ्गा चलाउने, चियाबारीमा फोटो खिच्ने र स्थानीय उत्पादनको परिकार तथा लोपोन्मुख लाप्चा समुदायको बासस्थान अन्तुको मुख्य विशेषता हुन् ।
अन्तु घुम्न आउने पर्यटकको सङ्ख्या वर्सेनि बढ्दो छ । यो वर्ष पनि अन्तुका धेरै होमस्टे १५ दिन सम्मका लागि बुकिङ भइसकेका छन् । सन्दकपुरका होमस्टे र होटल बुकिङ हुन थालेका छन् । अचेल नेपालको बाटो हुँदै कच्ची सडकबाट भए पनि सन्दकपुर पुग्न सकिने भएपछि विदेशी पर्यटकले सन्दकपुरको यात्रा बढी रोज्न थालेका छन् ।

इलामतर्फबाट सन्दकपुर नजिकै रहेको फुस्रे पोखरी, गोरूवाले हुँदै फालोट, आहाल, सन्दकपुरसम्म ‘ट्रेकिङ’ जाने पर्यटक फर्कंदा पनि छिन्टापु र टोड्के झर्ना हुँदै फर्कने गरेका छन् । माइमझुवाका पर्यटन व्यवसायी पुरन गुरूङ भन्नुहुन्छ –‘उनीहरूको बसाइ पनि अचेल माइमझुवा नै हुने गरेको छ, माइमझुवामा ‘होमस्टे’ सञ्चालन हुन थालेपछि यहाँ एक–दुई दिन ‘होल्ड’ गर्ने त्यसपछि फर्कने गरेका छन् ।’
शुुक्रबार र शनिबार प्रायः खचाखच हुने अन्तुमा मौसम खुलेसँगै एक महिनापछि सम्मलाई बुकिङ हुने गर्छ । ‘शुक्रबार–शनिबार पाँच–छ सय पर्यटक यहाँ आउन थालेका छन्, अरू दिन पनि डेढ–दुई सय पर्यटक भेला हुन्छन्, यो वर्षभरि अन्तु खालि भएन’–अन्तुका पर्यटन व्यवसायी धनकुमार आलेले जानकारी दिनुभयो ।

एक–दुई दिनदेखि महिना दिनसम्म बस्ने गरी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेको अर्का व्यवसायी रूद्र घिमिरेले बताउनुभयो । इलाम र कन्याम घुमेपछि अन्तिम गन्तव्य अन्तुलाई बनाउने पर्यटक अन्तुले गरेको आतिथ्य सत्कारमा निकै रमाउने गरेका छन् । अन्तुको चिसोमा रातभर बसेर आगो ताप्ने, नाचगान गर्ने, लेप्चा संस्कृतिलाई नियाल्ने लोकल कुखुरा, स्यालको रक्सी, कोदो र फापरको रोटी अन्तुमा पर्यटकको पहिलो रोजाईका कुरा हुन् ।

अन्तुमा अतिथि सत्कारमा आमा समूह सक्रिय छ । यहाँ आउने पर्यटकलाई बाँडेर २० घरमा राखिन्छ । ठूलो समूह छ भने एकै घरमा खाना खुवाएर बासका लागि अरु घरमा पठाउने गरेका छन् । स–साना समुह छन् भने आ–आफ्ना घरमा राखेर परिवारका सदस्यलाई जस्तै गरी खाना–बासको व्यवस्था गरिन्छ ।
दैनिक एक हजार पाँच सयजना जति अटाउन सक्ने अन्तुमा पछिल्लोपटक भने सङ्घीय सरकारले पर्यटनको नयाँ एक सय गन्तव्य सूचीमा कन्याम–फिक्कल–अन्तु सर्किटलाई पनि समेटेपछि अन्तुप्रति पर्यटकको थप आकर्षण बढ्न थालेको घिमिरेको बुझाइ छ । प्रदेश एक सरकारले पनि सूर्योदयन नगरपालिकालाई पर्यटकीय नगरका रूपमा घोषणा गरेपछि प्रदेश सरकारको सहयोगमा पनि यहाँ पर्यटनका लागि काम भइरहेको छ ।

पर्यटकीय गन्तव्यमा सूचीकृत भएपछि सूर्योदय नगरपालिकाले पनि अन्तु, फिक्कल र कन्याममा सौन्र्दयीकरणको काम थालेको छ । पहिलो चरणमा नगरपालिकालाई अग्र्यानिक उत्पादनको क्षेत्र बनाउन अग्र्यानिक अभियान शुरू गरेको नगरपालिकाले कन्याममा राजमार्ग क्षेत्र विस्तार, पैदल यात्रीका लागि पदमार्ग, घोडाका लागि बाटो, घोडाको तबेला, स्टल राख्ने ठाउँ, टायल बिछ्याउने, पिकनिक स्पोट निर्माण लगायतका काम थालेको छ । ‘कन्याममा वर्षैभरि पर्यटकको चाप हुने हुँदा त्यहाँको सौन्दर्यमा बढी ध्यान दिएका छौँ, फिक्कल र अन्तुमा पनि सौन्दर्यीकरणको काम शुरू भएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर काम अगाडि बढाइएको छ’ – सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले भन्नुभयो ।

अहिले कन्याम–फिक्कल र अन्तुमा सङ्घीय सरकारको ५० लाख रुपियाँ, प्रदेश नं. १ सरकारको ५० लाख रुयिाँ र नगरपालिकाको एक करोड गरी दुई करोड रुपियाँ खर्च गरी विभिन्न काम भइरहेको नगरपालिकाका आर्थिक समिति सयोजक देवेन्द्र शर्माले जानकारी दिनुभयो ।

रामसार क्षेत्र माइपोखरी घुम्ने पर्यटकको सङ्ख्या पनि वर्षैभर कम हुँदैन । यहाँ आउने पर्यटकको
सङ्ख्या पनि वर्षैभर कम छैन । इलाम सदरमुकामबाट करिब १३ किलोमिटर उत्तरमा रहेको माइपोखरी पुग्न आधा जति कालोपत्रे र आधा जति कच्ची सडकको यात्रा पार गर्नुपर्छ । माइपोखरीलाई भगवती देवीका रूपमा पनि पूजा गरिने हुँदा यहाँ धार्मिक पर्यटक वर्षैभर आउने र पूजाआजा गर्ने गरेको पुजारी तुलाराम पौड्यालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्