२८ चैत्र २०७६, शुक्रबार

दशैमा सप्तरीको छिन्नमस्तामा छुट्टै रौनक

धीरेन्द्रप्रसाद साह

नेपालमा ५१ वटा शक्तिपीठ छन् । जसमध्येका सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा छिन्नमस्ता भगवती मन्दिर एउटा शक्तिपीठ हो । यस जिल्लाको राजविराज सदरमुकादेखि १० किलो मिटर दक्षिण पक्की मोटरबाटोबाट त्यहाँ पुग्न सकिन्छ । पौराणिकस्थल साबिकको छिन्नमस्ता गाउँ विकास समिति–२ सखडा गाउँस्थित ठूलो पोखरीको उत्तरी डिलमा छिन्नमस्ता भगवती मन्दिर अवस्थित छ । प्यागोडा शैलीमा निर्माण गरिएको उक्त मन्दिरदेखि तीन किलोमिटर दक्षिण भारत विहार पर्दछ । यहाँ हिन्दु मात्र होइन, मुस्लिम समुदायका हजारौँ व्यक्ति ढृढ इच्छाशक्ति एवं विश्वासका साथ विभिन्न मनोकामना लिएर छिन्नमस्ता भगवती मन्दिर बाहिर बसी फूलहैस गर्न आउने गरेको पनि छ । छ बिघा १७ धुर सात कट्ठा क्षेत्रफल ओगटेको मूल मन्दिरभन्दा पूर्व शिव मन्दिर, हनुमानको मूर्तिसहित अन्य मूर्तिहरू छन् ।

यस मन्दिरमा अनेक किसिमका पूजा गरिन्छ । जसमध्ये दुईवटा पूजा बडो महìव र चर्चित छ । नशा र तान्त्रिक पूजा । वर्षका चारवटै नवरात्रिमा ५६ प्रकारका परिकार बनाएर मध्यरातमा नशा पूजा गरिन्छ । पूजामा विघ्न बाधा उत्पन्न हुन थालेपछि तान्त्रिकलाई बोलाएर तन्त्रमन्त्रद्वारा पूजा गराई भगवतीको सिंहासनमा एउटा जन्तर राखी बडादशैँको महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गरिन्छ ।

छिन्नमस्ता भगवतीको दैवी शक्ति पनि अपरम्पार छ । मन्दिरमा चढाइने पशुबलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा बस्दैन, लुगामा रगत लागे पनि दाग लाग्दैन, रगत पोखरीको पानीमा मिसिँदा रातो हुँदैन, बलि प्रदान गर्ने नाममा राखेका खसीबोकालाई केही हुँदैन, बलिका लागि खसीबोका किन्नुअघि कुकुर, स्यालले टोकेको छ, अछुतो छ भन्ने मन्दिर पुग्दा नपुग्दै मर्छन, आदि आश्चर्यजनक दैवी कुरा रहेको छ । बलि प्रदान गर्दा निस्केको रगत सोही पोखरीमा नबगाएमा अनिष्ट हुने, जुठो वा अपवित्र पूजा सामग्री कुकुर र कागले छोएर चढाउन नदिने, पवित्र पूजा सामग्री तथा प्रदान गरिएको बलि एवं चढाएको प्रसादलाई कुकुर र कागले नछुनेजस्ता दैवी शक्ति रहेको छ ।

छिन्नमस्ता भगवतीमा मनोकामना पूरा भएका भक्तजनहरूले भगवती दुर्गालाई भोजन गराउने मान्यताका साथ पाँच जना कुमारीलार्ई भोजन गराउँछन् । मन्दिरमा अर्को फूलहैसको पनि उत्तिकै महìव छ ।
प्रत्येक दिन औषतममा ५० वटाभन्दा बढी तथा बडादशैँमा हजारौँ बोका, खसी, भेडा, परेवा, हाँस र माछको बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले पञ्चबलि प्रदानसमेत गरिन्छ । पञ्चबलिमा बोका, खसी, भेडा, परेवा, हाँस र माछा पर्दछ ।
मन्दिरभित्र मूल देवीका रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । उक्त मूर्तिको पाउँतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ । मूल मूर्तिको देबे्रपट्टि क्रमशः दक्षिणकाली, महषिमर्दिनी र दाहिनेतिर क्रमशः चामुण्डा, भैरवीकै र त्यस्तै कालो रङको प्रस्तर मूर्ति स्थापित छ । ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ । यी मूर्तिहरू मन्दिरको अस्तित्वदेखि नै रहेको छ । मूर्तिहरू शुद्ध पालवंशी शैलीमा बनाइएका छन् । नेपालमा पाल शैली भारतबाट आएको हो । सिम्रौनगढका कालो रङको भएको प्रस्तरमा कुँदिएका यी मूर्तिहरू र सखडा भगवतीको मन्दिर एउटै समयको र एउटै कलाकारले बनाएको पाइन्छ ।

 

मुना असोज २०७६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-4-9

Country Confirmed Death
Nepal90
India6725226
China828833339
Malaysia422867
Qatar23766
Australia610851
US46143716478
Saudi Arabia328744