‘यो बाटो विराटनगरको जनआन्दोलन चोकको हो, यो बाटोमा घिस्रनु पर्‍यो मेयर साब’

‘यो बाटो विराटनगरको जनआन्दोलन चोकको हो, यो बाटोमा घिस्रनु पर्‍यो मेयर साब’

विराटनगर । विराटनगरका स्थानीय नविन श्रेष्ठले शनिबार जनआन्दोलन चोकको धुलाम्मे सडकको फोटो हाल्दै फेसबुकमा लेखे, ‘यो बाटो विराटनगरको जनआन्दोलन चोकको हो, यो बाटोमा घिस्रनु पर्‍यो मेयर साब।’ छठ पर्वको मुख्य दिन शनिबार विराटनगरका मेयर भीम पराजुलीले साष्टांग दण्डवत प्रणाम गर्दै घस्रिएर घाटसम्मको यात्रा सुरु गरेका थिए। उनी कालोपत्रे सडकमा घस्रिएको फोटो सामाजिक सञ्जालमा छाएपछि श्रेष्ठले मात्रै होइन महानगरगरका धेरैले उनीप्रति सडक निर्माण र व्यवस्थापनमा चासो नदिएको आक्रोश पोखे।

नगरवासीको सुख र शान्तिको कामना गर्दै मेयर पराजुलीले सडकमा घस्रिएर घाट पुगेर छठको पूजा गरे पनि नगरवासीको प्रतिक्रिया फरक आयो। ‘घस्रिएर होइन व्यवस्थित तवरले बाटो बनाए चैं नगरवासीले सुख पाउँथे कि ? ’, स्थानीय चन्द्रमणि न्यौपानेले प्रतिक्रिया दिए।

विराटनगर प्रदेश १ को राजधानी भए पनि महानगर क्षेत्रका सडकको अवस्था दयनीय छ। धुलाम्मे सडक, भत्किएका नाली र खाल्डाखुल्डीले जोखिम बढाएको छ भने मर्मत र निर्माण सुरु गरेका सडकको कामले गति नलिँदा दायाँ बाँयाका पसलमा व्यापारिक कारोबारसमेत चौपट भएको स्थानीय व्यापारी बताउँछन्। ‘महानगरले बनाउन सुरु गरेको भित्री सडकको निर्माण नै एक वर्षमा सकिँदैन, धुलोले पसलमा बस्नै गाह्रो छ भने सडक र नाली भत्काउँदा ग्राहकसमेत आउँदैनन्, कसरी व्यापार गर्ने ? ’, विराटनगर ट्राफिक चोकका व्यापारी सुरेश चौधरी गुनासो पोख्छन्।

महानगर क्षेत्रका भित्री कुनै पनि सडकको मर्मत सकिएको छैन। अघिल्लो वर्ष सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पराजुलीले आगामी दसैंसम्म महानगर क्षेत्रका सबै सडक कालोपत्रे गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। तर दसैंसम्ममा कुनै सडकको पनि काम ५० प्रतिशत पनि सकिएको छैन। ०७४ सालबाटै महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १७ वटा सडकको स्तरोन्नतिका लागि काम थालेको थियो। सरकारको सघन सहरी विकास कार्यक्रमअन्तर्गत उक्त सडक व्यवस्थित एवं पुनर्निर्माण सुरु गरेको दुई वर्षमा सबै सडक भत्काए पनि काम सम्पन्न नगर्दा सडकको अवस्था झनै दयनीय बनेको हो। करिब २ किलोमिटर बजार क्षेत्र जोड्ने पूर्वतर्फ ८ र पश्चिमतर्फ ९ वटा सडक छन्।

महानगर क्षेत्रका १७ सडकको निर्माण लागत २ अर्ब ६३ करोड रुपैयाँ छ। जम्मा सबै सडकको लम्बाई जोड्दा ७४ किलोमिटर छ। महानगरपालिकाकाले विभिन्न १० वटा वडाका सडक व्यवस्थित एवं विस्तार गर्न यतिका रकम खर्च गरे पनि सडकको नालीसमेत व्यवस्थित गर्न सकेको छैन। विराटनगरको वडा नम्बर १६ देखि २० सम्म जोड्ने दरैयामार्ग, वडा नम्बर १८ को जतुवा चोकदेखि कठकुवासम्म व्यवस्थित सडक निर्माण गर्न सुरुवातमानै काम सुरु गरिएको थियो। तर अझै निर्माण सकिएको छैन।

विराटनगर-५ को खानेपानी ट्यांकी हुँदै जामुनेश्वर मार्गसम्म, वडा नं ४ को कञ्चनमार्ग, भूपूमार्ग तथा औषधि व्यवस्था विभाग हुँदै बिहीबारे हटियासम्म, वडा नम्बर १ को नमूनामार्ग, वडा नम्बर २ को संसारीमाईपथ तथा विराटनगर-११ को अशोक चोक जाने सडक व्यवस्थित गर्ने योजना महानगरले दुई वर्षअघि नै बनाएर काम सुरु गरेको थियो। हाल सबै योजना भद्रगोल अवस्थामा छ।

आर्थिक वर्ष ०७४÷७५ मा नै काम सम्पन्न गर्ने गरी सडक विस्तारसँगै दुवैतर्फ व्यवस्थित नाला र स्तरीय कालोपत्रे गरी उक्त सडकलाई विराटनगरकै नमूना सडक बनाउने नगरले योजना बनाएको दुई आर्थिक वर्षमा पनि काम सकिएको छैन। महानगरका मेयर पराजुली भने ढल र नाली व्यवस्थित गर्न समय लागेकाले काम ढिला भएको बताउँछन्। ‘काम भइरहेको छ, मात्रै लक्ष्य भेट्टाउन नसकेको हो,’ उनले भने। यो खबर आजको अन्नपुर्ण पोष्टमा रबिन भट्टराईले लेखेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्