विद्युत् प्राधिकरण विराटनगर : महशुल नबुझाउनेको लाइन काट्न शुरू

विद्युत् प्राधिकरण विराटनगर : महशुल नबुझाउनेको लाइन काट्न शुरू

विराटनगर । नेपाल विद्युत् प्राधिकरण, विराटनगर वितरण केन्द्रले विद्युत् महशुल समयमा नबुझाउने ग्राहकको लाइन काट्न थालेको छ । विराटनगर जुट मिल, रेलवे कार्यालय, कोशी अस्पताल जस्ता संस्थाले समयमै महशुल नतिरेर बक्यौता धेरै भएपछि लाइन काट्न थालिएको केन्द्रका प्रमुख राजीव सिंहले बताए । उनका अनुसार विराटनगर जुट मिलको भने यसअघि नै लाइन काटिएको थियो ।

विराटनगर जुट मिलले मिलतर्फको मात्रै रू. ९६ लाख ६७ हजार महशुल तिर्न बाँकी छ । साथै क्वार्टरमा दिइएको लाइनको समेत गरेर मिलको रू. १ करोड जति महशुल बक्यौता रहेको कार्यालयले बताएको छ । कोशी अस्पतालले रू. २८ लाख बराबरको महशुल बक्यौता छ । ‘अस्पतालको विद्युत् लाइन गत असारमै काट्न खोज्दा स्वास्थ्यसचिव रामप्रसाद थपलियाले फोन गरेर रोकेका थिए । त्यसलगत्तै अस्पतालले १ करोड रुपैयाँ तिरेको थियो,’ सिंहले भने, ‘अहिले पुनः २८ लाख बराबर महशुल पुगेको प्राधिकरणले बताएको छ ।’ यस्तै रेलवेले रू. ५ लाख १९ हजार महशुल तिर्न बाँकी रहेको उनले बताए ।

प्राधिकरणको विराटनगर वितरण कार्यालय अन्तर्गत ६७ हजार ६६१ ग्राहक छन् । विराटनगर महानगरपालिका, जहदा, कटहरी, बूढीगंगा र ग्रामथान गाउँपालिका कार्यालय अन्तर्गत पर्दछन् ।

कार्यालयले मासिक रू. २४ करोडको हाराहारीमा विद्युत् महशुल उठाउँदै आएको छ । कार्यालयले रानी सबस्टेशन र टंकी सबस्टेशनबाट ११ केभी र ३३ केभी मार्फत विद्युत् आपूर्ति गर्दै आएको छ ।

उच्चतम विद्युत् माग भएका बेला कार्यालय अन्तर्गत ५६ मेगावाट विद्युत् खपत हुने गरेको कार्यालय प्रमुख सिंहले बताए । कार्यालयले महशुलमा कडाइ गर्नुका साथै विद्युत् चुहावट घटाउने अभियान पनि थालेको छ । आर्थिक वर्ष २०७४/७५ मा विद्युत् चुहावट १२ दशमलव ८६ प्रतिशत रहेकोमा अहिले चुहावट प्रतिशतलाई ९ दशमलव ६८ प्रतिशतमा झारेको सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्