विराटनगर । सरकारले मनाउन लागेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले विराटनगर जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।
सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको बेला विराटनगर जेसीजले भ्रमण वर्षलाई टेवा पुर्याउने महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो । ‘जेसीस सप्ताह’ कार्यक्रम अर्न्तगत विराटनगर जेसीजले मनाउने साताभरिको कार्यक्रम पनि विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
सप्ताहको पहिलो दिन शनिबार प्रदेश १ भरि रहेको पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने कार्यक्रम छ । प्रदेशभरी रहेको पर्यटकीय स्थलको बारेमा घुम्न जाने पर्यटकलाई जानकारी पुर्याउने उद्देश्यले विराटनगरमा स्टल राखिने विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाईले जानकारी दिएका छन ।
‘‘विराटनगरको विरेन्द्र सभा गृह हल छेउमा रहेको इकोफन पार्कमा प्रदेशभित्रका पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन त्यहाँ स्टल रहनेछ,’’ अध्यक्ष बजगाईले भने, ‘‘यहाँ रहेको पर्यटकीय क्षेत्रको बारेमा हामी जानकारी गराउछौं ।
यसले भ्रमण वर्षलाई थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।’’ सोही दिन पर्यटकीय स्थलको विवरणहरु संकलन गरी विराटनगरदेखि भेडेटारसम्म मोटसाइकल र्याली निस्किनेछ । उक्त र्यालीमा १ सय जना युवाहरूको सहभागिता हुनेछ ।
उनीहरूले भ्रमण वर्षको प्रचारप्रसार पनि गर्नेछन् । शनिबारदेखि सुरू हुने कार्यक्रम कात्तिक २९ गते समापन हुनेछ । सप्ताहव्यापी कार्यक्रमको मुख्य संयोजकमा उज्जल खरेल रहेका छन् । अन्य दैनिक हुने कार्यक्रमको पनि छुट्टाछुट्टै दिनका संयोजकहरू तोकिएको छ । विराटनगर जेसीजले युवा व्यवसायीहरूलाई ‘बिजनेश ट्रेनिङ्’ पनि दिने भएको छ । उक्त ट्रेनिङ् कात्तिक २८ गते हुनेछ ।
यस्तै स्टेशनसरीको सामग्री वितरण, अन्तर स्कुल ट्यालेन्ट प्रतियोगिता, ट्राफिक सचेता मुलक कार्यक्रम हुने मुख्य कार्यक्रम संयोजक खरेलले बताए । उनले जेसीज सप्ताह सम्पन्न गर्न तीन लाख खर्च हुने जानकारी गराए । सप्ताहको अन्तिम दिन विभिन्न क्षेत्रका तीन जना युवाहरूलाई सम्मान गरी कार्यक्रमको समापन हुने बताइएको छ ।