४ मंसिर २०७६, बुधबार

वातावरण प्रदूषण गर्ने उद्योग प्रतिष्ठान कार्वाहीमा, मोरङका उद्योग पनि परे

चाँदनी हमाल

काठमाडौँ, कात्तिक २३ गते । देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो ।
रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउँछ । २६ मध्ये १२ वटा अस्पताल वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका हुन् । सरकारले तोकेको मापदण्डविपरीत धुलो, धुवाँ र अन्य प्रदूषण उत्पादन गरेबापत ती उद्योग प्रतिष्ठान कारबाहीमा परेको वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिनुभयो ।
कारबाहीमा परेकामध्ये पनि काठमाडौँमै रहेका अस्पताल धेरै छन् । त्यस्तै दुईवटा क्रसर उद्योग कारबाहीमा परेका छन् । अस्पतालहरूले मानव स्वास्थ्यलाई हानि पु¥याउने फोहोरको उपचार नै नगरी जथाभावी फालेको भेटिएको लामिछानेले बताउनुभयो ।
उद्योग प्रतिष्ठानले भने मापदण्डविपरीत धुलो, धुवाँ, रसायन तथा फोहोर पानी जथाभावी फालेको अनुगमनमा पाइएको वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिनुभयो । विभागले विभिन्न समयमा गरेको छड्के अनुगमनमा ती उद्योग प्रतिष्ठानले मापदण्डविपरीत वातावरण प्रदूषित हुने काम गरेको फेला पारेको उहाँले बताउनुभयो । मापदण्डविपरीत प्रदूषण फैलाउनेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार हदैसम्मको जरिवाना गरिएको विभागले उल्लेख गरेको छ ।
सरकार मातहत रहेको सरुवा रोग नियन्त्रण गर्ने काठमाडौँ, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नै कारबाहीमा परेको छ । वातावरण प्रदूषण गराएबापत वातावरण संरक्षण ऐनअनुसार अस्पताललाई ४० हजार रुपियाँ जरिवाना गरिएको छ । अस्पतालले वातावरणसँगै मानव स्वास्थ्यमा सीधै हानि पुग्ने फोहोर व्यवस्थापन राम्ररी नगरेको फेला परेको थियो ।
त्यस्तै नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई पनि वातावरण प्रदूषण गरेबापत ४० हजार रुपियाँ जरिवाना गरिएको छ । यिनले पनि जथाभावी फोहोर गरी वातावरण र मानव स्वास्थ्यमा असर हुने कार्य गरेको विभागले फेला पारेको हो । त्यसैगरी नर्भिक इन्टरनेसनल हस्पिटल वातावरण प्रदूषण गरेकै कारण ९० हजार रुपियाँ जरिवानामा परेको छ ।
काठमाडौँ मेडिकल कलेज, गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, नोबल अस्पताल सिनामङ्गल, काठमाडौँ भ्याली अस्पताल सुन्धारा, अल्का अस्पताल, जाउलाखेल, एभरेस्ट अस्पताल र चितवन मेडिकल कलेज भरतपुरले प्रदूषण गरेबापत ९० हजार रुपियाँका दरले जरिवाना तिरेका छन् । नरदेवीस्थित आयुर्वेदिक चिकित्सालयले पनि प्रदूषण गरेबापत २५ हजार रुपियाँ जरिवाना भर्नु परेको विभागले जनाएको छ ।
विभागको अनुगमनका क्रममा प्रदूषणकारी गतिविधि गरेको फेला पर्दा यसरी कारबाहीमा पर्ने अन्य उद्योग प्रतिष्ठानमा केपी सिमेन्ट इन्डस्ट्रिज धादिङ, बाबा भेजिटेबल आयल इन्डस्ट्रिज मोरङ, रिलायन्स स्पिनिङ मिल्स सुनसरी, यती डिस्टिलरी चितवन पनि प्रदूषण गरेबापत ९० रुपियाँका दरले जरिवानामा परेका छन् । क्वालिटी थाई फुड्स मोरङ, चण्डिका डिस्टिलरी मोरङ, प्रिमियर वायर्स मोरङ, घोराही सिमेन्ट इन्डस्ट्रिज दाङ, ओम प्लाइउड इन्डस्ट्रिज नेपालगन्ज, प्रगति टेक्सटायल इन्डस्ट्रिज सुनसरी, क्वालिटी ग्रिट एन्ड क्रसर उद्योग तनहुँ, खनाल ग्रिट बालुवा तनहुँ, एसियन थाई फुड्स सुनसरी पनि वातावरण प्रदूषण गरेबापत ९० हजार रुपियाँ जरिवाना तिर्नेमा पर्छन् ।
मापदण्डविपरीत धुलो, धुवाँ उत्पादन गरी वायु प्रदूषण गरेको अभियोग यी उद्योगलाई लागेको हो । कतिपय निकाय पहिलेको खबरदारीमा सुधार नगरी पटकेमा समेत परेको विभागले जनाएको छ ।

सचेत रहनुपर्छ : विज्ञ महता
ग्रिन हाउस, ग्यास र वायु प्रदूषणमा विद्यावारिधि गर्नुभएका खड्ग महताले नेपालको वायुमा बढ्दै गएको कालो कार्बन सबैभन्दा खतरनाक रहेको औँल्याउनुभयो ।
“यसले मानिसको फोक्सो मात्र हैन, हिमालको हिउँसमेत पग्लाउँदै लगेको छ”, उहाँले भन्नुभयो, “साना धुलोका कणसहित मिसिएर हावामा उड्ने कार्बन हिमालको कालो टाकुरामा आकर्षित हुँदै त्यहाँको ताप बढाउँछ । ” बढ्दो तापका कारण हिउँ पग्लँदा जलवायु परिवर्तनको नकारात्मक असर नेपालसहित विश्वले नै भोग्नुपर्ने उहाँको ठम्याइ छ ।
कार्बनको कण पीएम २.५ भित्र पर्छ । उहाँका अनुसार राजधानीसहित नेपालभर उद्योग कलकारखानाबाट उडेको धुवाँ, इँटाभट्टा र सवारीको डिजेलको धुवाँ, जथाभावी खुला स्थानमा बालिने फोहोर, वन डढेलो र कृषि उपजको फोहोर बाल्दा अत्यधिक कार्बन उत्पन्न भइरहेको छ । यस्ता धुवाँ सडकको धुलोसँगै मिसिएर वायुमण्डलको तल्लो भागमा विचरण गर्दा मानिसको स्वास्थ्यमा अत्यधिक असर गर्छ ।
नेपालको तल्लो सतहमा ओजोन ग्यासको उत्पादन पछिल्लो समय बढ्दै गएको तर्क उहाँले गर्नुभयो । “ओजन ग्यास ओजन तहमा उत्पादन हुँदा त्यसले सूर्यको पराबैजनी किरण पृथ्वीमा आउनबाट रोक्छ तर धर्तीको सतहमा उत्पादन भयो भने मानवका लागि हानिकारक हुन्छ”, उहाँले प्रस्ट्याउनुभयो, “सवारी साधनको धुवाँसँग अन्य ग्यासको मिश्रणपछि रासायनिक प्रतिक्रियास्वरूप ओजन ग्यास बनिरहेको छ । ”
नेपालमा दिउँसोको घाम लागेको समयमा यसको उत्पादन वृद्धि भइरहेको तथ्य पत्ता लागेको छ । जाडोको समयमा बढी नेपाली भूभागमा ओजन उत्पादन हुने गरेको महताको अध्ययनले बताउँछ । ओजन तहमै पनि यो ग्यास बढी हुँदा पृथ्वीमा चिसो बढ्ने सम्भावना रहन्छ ।
हानिकारक मापदण्डअनुसार नेपालमा १५७ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुगेमा हानिकारक हुन्छ । पेट्रोल, डिजेलबाट चल्ने बढ्दो सवारी साधनका कारण मानव भविष्यमा यसको खतरा पनि बढ्दै गएको उहाँले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले १२० माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि उक्लेमा हानिकारक हुने सूची निकालेको छ ।
सरकारले कानुनविपरीत भनेको विषयमा मात्र कडाइ गर्ने हो भने पनि वायु प्रदूषण धेरै हदसम्म घट्ने उहाँ बताउनुुहुन्छ । घर बनाउँदा होस् वा भौतिक निर्माण गर्दा, निर्माण सामग्रीको व्यवस्थापन, खुला रूपमा फोहोर जलाउन रोक, उद्योग प्रतिष्ठानमा अनुगमनको कडाइ, वन तथा पैदावारमा डढेलो लगाउन प्रतिबन्ध गर्न सरकार र सम्बन्धित निकायले बढी ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस