विराटनगर । जेनजी आन्दोलनका नाममा मोरङमा जलाइएका कार्यालयहरुको मर्मत, सुधार तथा पुननिर्माण र पुर्र्नस्थापनाको कामले तिव्रता दिएको छ । भदौ २३ र २४ गते जलेर क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलको निर्माण सुरु भएको छ । यसैगरी बाँकी तीनवटा भवन निर्माणको कार्य समेत सुरु गरिने भएको छ । जेनजी आन्दोलनमै क्षति पुगेको जिल्ला प्रशासन कार्यालयका चार भवनमध्ये एउटा निर्माणाधीन, प्रमुख जिल्ला अधिकारी आवास भत्काउने ठेक्का, सहायक प्रमुख जिल्ला अधिकारी आवास तथा पुरानो प्रशासन कार्यालय भत्काउने कार्य समेत चाँडै सुरु हुने गरिने भएको छ । सभाहल निर्माणमा ८० लाख लागत अनुमान गरिएको छ ।
जेनजी आन्दोलनमा क्षति पुगेका सुनसरी, मोरङ र उदयपुरका २२ संघीय सरकारी कार्यालयको मर्मत, प्रवलीकरण तथा निर्माणको काम भइरहेको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङका निमित्त प्रमुख तथा इन्जिनियर श्रवण कुमार यादवले जानकारी दिएका छन् । योबीचमा केहि कार्यालय भने खारेज समेत भइसकेका छन् । उनका अनुसार आन्दोलनमा क्षति पुगेका संरचना मर्मत, सुधार, प्रवलीकरण, पुर्नस्थापना र निर्माणको खरिद प्रक्रिया समेत छोटो अवधीबाटै हुने गरेको छ । जसका कारण क्षति पुगेकामध्ये छ वटा कार्यालयको मर्मत सम्पन्न भइसकेको छ । जसमा इलाका प्रशासन कार्यालय उर्लाबारी, मालपोत कार्यालय बेलबारी, इलाका प्रशासन कार्यालय रंगेली, सव–डिभिजन वन कार्यालय पथरी छन् । कार्यालयको क्षेत्राधिकार यस अगाडी उदयपुर जिल्ला समेत रहेकोले चालु आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय उदयपुर, कोष तथा लेखा नियन्त्रक कार्यालय र मातपोत कार्यालय गाइघाट, उदयपुरको मर्मत तथा सुधार कार्य सम्पन्न भएको इन्जिनियर यादवले जानकारी दिएका छन् ।
इन्जिनियर यादवका अनुसार मर्मत÷पुननिर्माण÷पुर्नस्थापना गर्ने कार्यका लागि चालु आर्थिक वर्षमा दश करोड ७७ लाख २९ हजार रुपिँया बजेट प्राप्त भएको हो । ढिला गरी प्राप्त बजेटलाई फास्ट ट्रयाकबाट खरिद प्रक्रियामा लगिएको थियो । सबै कार्यालयहरुको काम नसकिएपनि धेरैको चालु आर्थिक वर्षमै सकिने उहाँको भनाई थियो । त्यस बाहेक आगामी आर्थिक वर्षका लागि थप प्रस्ताव समेत बढाइएको छ ।
मोरङ–सुनसरीमा उच्च अदालत विराटनगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मोरङ, हुलाक निर्देशानालय विराटनगर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी, आन्तरिक राजस्व कार्यालय इटहरी, राजस्व अनुसन्धान कार्यालय इटहरी, जिल्ला अदालत मोरङ, जिल्ला सरकारी वकिलको कार्यालय मोरङ लगायतका संरचनाहरु अहिले मर्मत, सुधार, पुननिर्माण तथा पुर्नस्थापनाको प्रक्रियामा रहेको जानकारी दिइएको छ ।
मोरङमा जेनजी आन्दोलनका क्रममा १५५ वटा संरचनामा क्षति पुगेको थियो । त्यसमध्ये २१ वटा संघीय सरकारी कार्यालय रहेका थिए । यसैगरी १२ वटा प्रदेश कार्यालय, १० वटा स्थानीय तहका पालिका कार्यालय, ५८ वटा वडा कार्यालयहरुमा आगजनी भएको थियो । यसैगरी निजी घरहरु १५, पार्टी कार्यालयहरु ८, संघसंस्थाका भवन ४, व्यापारिक भवन ३ वटा, होटल १ वटा अनि नेपाली प्रहरीका १७ र सशस्त्रका चार पोष्टमा क्षति पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांक अनुसार मोरङमा सार्वजानिक तथा निजी सम्पतिमा क्षति पु¥याएको आरोपमा ९० वटा मुद्दा दर्ता भएका छन् । हालसम्म ४७ जना आरोपित पक्राउ परेका छन् । यद्यपी अहिलेसम्म आन्दोलनका क्रममा आगजनी तथा तोडफोडमा संलग्नहरुमाथि कारवाही भने भएको छैन ।