मोरङका खोलामा अबैध दोहन रोकिएन, जेसिबी नियन्त्रण पछि छाड्न दवाव

मोरङका खोलामा अबैध दोहन रोकिएन, जेसिबी नियन्त्रण पछि छाड्न दवाव

विराटनगर । निषेधित घोषणा गरिएको वन क्षेत्र भएर बग्ने खोलाको दोहन भएपछि प्रहरीको सक्रियता बढेको छ । अबैध रुपमा दोहनका लागि प्रयोग भएका तीनवटा जेसिबीलाई चालकसहित मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोला उत्खनन् र दोहनमा प्रयोग गरिरहेका बेला एकै पटक तीनवटा जेसिबी पक्राउ परेको यो पहिलो घटना हो । नियन्त्रणमा लिइएका को १ क १७४०, को १ क १४६६ र को १ क ३१५९ नम्बरका जेसिबी नियन्त्रणमा लिएको हो । जेसिबी सहित चालक केराबारी–३ का २५ वर्षीय विक्रम याक्खा, उदयपुरको त्रियुगा नगरपालिका–१ का १९ वर्षीय भीमराज विष्ट र दाङ तुलसीपुर नगरपालिका–५ का २८ वर्षीय भूपेन्द्र डाँगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जेसिबी केराबारीकै मखन तामाङ, प्रकाश घिमिरे र मोहन लिम्बूको भएको प्रहरीले जनाएको छ ।
प्रहरीले जेसिबीका मालिक स्थानीय स्तरमा अबैध धन्दा चलाउने व्यक्ति भएको प्रहरीले जनाएको छ । जेसिबी पक्राउ परेपछि कारबाही नगरि छाड्न प्रहरीलाई ठूलै दबाब आएको श्रोत बताउँछ । प्रहरीले वन कार्यालयको जिम्मा लगाएको छ । पक्राउ गरिएका जेसिबीसहित चालक विरुद्ध सोमबार वन ऐन २०७६ अन्तर्गत कारवाही अघि बढाउन अदालतबाट म्याद थप गरिएको शव डिभिजन वन कार्यालय केराबारीका प्रमुख विक्रम अमात्यले बताए । ‘वन क्षेत्रमा भएको अवैध उत्खनन्माथि कारबाही अघि बढाउने निकाय वन कार्यालय हो,’ उनले भने, ‘त्यही भएर यस घटनालाई मुद्दाका रुपमा अघि बढाइएको छ ।’
त्यस्तै वन क्षेत्रबाट उत्खनन् गरिएका ढुँगासहित लेटाङ नगरपालिका–६ स्थित चिसाङ खोलाबाट प्रहरीले शुक्रबार तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । को २ त ३०१७, को २ त ६९०० र को ३ त ८६ नम्बरका ट्याक्टरलाई १५ हजार रुपैयाँका दरले जरिवाना गर्दै जिल्ला समन्वय समिति मोरङले छाडिदिएको प्रहरीले जनाएको छ ।
केराबारी र लेटाङमा वन क्षेत्र भएर बग्ने खोलामा लामो समयदेखि जारी दोहन र अवैध उत्खनन् रोकिएको छैन । प्रहरीले उत्खनन्मा प्रयोग गरिएका सवारी साधन नियन्त्रणमा लिएर कारबाहीका लागि बुझाए पनि सामान्य जरिवाना मात्रै गरेर छाड्ने प्रवृतिका कारण समस्या आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्