विराटनगर । देशको नाम सहमतिमै कार्यक्रमका अवसरमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको नाम सबै दलको सहमतिमा छिट्टै प्रदेशसभाले टुंगो लगाउने बताए।किरात समुदायमा समाज सुधारको अभियान सुरु गर्ने नेपालका १६ औं राष्ट्रिय विभूति किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्तीमा मोरङ मिक्लाजुङ ३ को टाढीमा यस्तो बताएका हुन् । उनले प्रदेशको राजधानी पनि सबै दलको सहमतिमा विराटनगरलाई तोकिएको जानकारी दिँदै सबै दल र ९३ जनै सांसदको सहमतिमा प्रदेशको नामाकरण गरिने बताए।
यसअघि कार्यक्रममा बोल्दै लिम्बूवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले प्रदेशको नामाकरण किरात–लिम्बूवान राख्नुपर्ने माग गरे। उनले पहिचानको पक्षमा आफूहरुले सुरु गरेको आन्दोलन अहिले पनि जारी रहेको भन्दै प्रदेशको नाममा पहिचानमा आधारित हुनुपर्छ भन्ने माग अहिले पनि कायम रहेको बताए। लिङ्देनले नेपाल आफ्नो देश र लिम्बूवान आफ्नो घर भएको भन्दै नेपालको अखण्डता भित्र लिम्बुवान खम्बुवान खोजेको बताए।
यस्तै लिङ्देनले महाकालीमा भारतले सीमाना मिचेको विषयमा सर्वदलीय बैठक हुँदा आफूलाई प्रधानमन्त्रीले नबोलाएको भन्दै असन्तुष्टि जनाए। यद्यपी सीमा विवादको विषयमा कुटनीतिक ढंगले एकताबद्ध भएर नेपालको भूमि फिर्ता ल्याउनुपर्ने आफूहरुको मत रहेको लिङ्देनको स्पष्टोक्ति थियो।