कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा विद्यार्थीको प्रदर्शन

कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा  विद्यार्थीको प्रदर्शन

विराटनगर । भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले जुलुससहित प्रदर्शन गरेका छन् ।

व्यवस्थापन क्याम्पस ईकाइको आयोजनामा निस्किएको र्यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ । संघका इकाइ सभापति अनिल खाँ र सचिव शेखर बुढाथोकीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेक जस्ता ऐतिहासिक भूभागलाई फिर्ता गर्न पहलका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ । त्यस अवसरमा नेविसंघ सम्बद्ध विद्यार्थीले बरु अहिले रेल र पानी जहाज नचाहिएको बरु मिचिएको जग्गा फिर्ता गराउन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेविसंघका पूर्व सहमहामन्त्री कृष्ण कार्कीले नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले दह्रो खुट्टा टेक्नुपर्ने सुझाव दिए । ‘‘सर्वपक्षीय छलफलबाट पनि प्रधानमन्त्रीलाई अघि बढ्न म्यान्डेट दिइएको छ,’’ कार्कीले भने, ‘‘अब प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गर्नुपर्छ । उहाँलाई सबैको साथ र समर्थन छ ।’’

यसैगरी विद्यार्थीहरुको अर्को समूहले विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट निस्किएको र्याली जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि आएर विरोध सभामा परिणत भएको थियो । सहभागी विद्यार्थीले भारतको रवैयाले नेपालमाथि जहिले पनि थिचोमिचो हुने गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्