विराटनगर । वैदेशिक रोजगारीको ठगीसँग जोडिएका मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कूलबहादुर लिम्बूका तर्फबाट परेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
इजरायल पठाइदिने भन्दै परिवारका सदस्य, आफन्त, छिमेकी गरेर लेटाङकै १४ जनासँग लाखौं रुपैयाँ ठगी गरेको पाइएपछि उनलाई श्रम कार्यालय विराटनगरले पुर्जी जारी गरेपछि प्रहरीले असार १ गते पक्राउ गरेको थियो । ३५ दिनमा पीडितको रकम फिर्ता गर्ने भनेपछि साधारण तारेखमा छुटे पनि रकम फिर्ता नगरेपछि प्रहरीले फेरि उनलाई साउन २३ गते पथरीशनिश्चरेबाट पक्राउ गरेको थियो ।
बिना कारण उनलाई हिरासतमा राखेको भन्दै साउन २५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट परेको थियो । सर्वोच्चकै आदेशबाट उनी थुनामुक्त पनि भएका थिए । श्रमले ठगी गरेको आवश्यक प्रमाण पेस गरेपछि उक्त रिटलाई अदालतले खारेज गरिदिएको छ । रिट खारेज गरिदिएको जानकारी सहितको पत्र मंगलबार श्रम कार्यालय विराटनगरलाई प्राप्त भएको श्रम कार्यालय विराटनगरले जनाएको छ । सर्वोच्चका अधिकृत श्यामप्रसाद दाहालले हस्ताक्षर गरेको पत्र प्राप्त भइसकेका कारण अब लिम्बूमाथि वैदेशिक रोजगारी ठगीमा कारबाही गर्ने आधारतय भएको कार्यालयका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए ।
सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङसँगको मिलेमतोमा लिम्बूले वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै प्रति व्यक्ति एक लाखदेखि दुई लाख ८० हजारसम्म गठी गरेर १९ लाख ८० हजार रुपैयाँ ठगी गरेको पत्ता लागेका सञ्जेलको भनाइ छ ।
पीडित १४ जनाले श्रम कार्यालयमा आफूहरु तीन वर्षदेखि ठगिएको भन्दै गत जेठमा उजुरी दिएका थिए । कूलबहादुरले लेटाङ–३ का हर्कबहादुर लिम्बू, लेटाङ–५ का खड्गबहादुर सुब्बा, रामबहादुर मगर, गोपाल चेम्जोङ, सजेन्द्र बोहरा, दुर्गा बोहरा, कृष्णबहादुर मगर, प्रदीप लिम्बू, जीतबहादुर राई, लेटाङ–६ का गंगाराम थापा, लेटाङ–८ की सपना राई, लेटाङ–९ का रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बूमाथि ठगी गरेको श्रमले जनाएको छ । हर्क बहादुर, खड्गबहादुर र प्रदीप उनका भतिजा एवं रुद्रबहादुर भान्जा हुन् ।