–दीपक बोहरा
सोही ठाउँका ठेलराज वादीले पनि पुस्तौँदेखि मादल बनाउँदै आएका छन् । तर, पछिल्लो समय वर्षेनी मादलको माग घट्दै गएको उनले बताए । “मैले पुर्खादेखि मादल बनाउँदै आएको छु”, उनले भने, “तर पछिल्लो समय मादलको माग घट्दै गएको छ ।” उनले अहिले पनि वर्षेनी रु पाँच÷सात लाख मादल बनाएरै कमाउने गरेका छन् ।
आफ्नो मुख्य पेशा नै यही भएकाले यसरी चाडपर्वको समयमा पनि मादलको माग घट्दै जानुले आफूहरुको पेशा धरापमा पर्ने गरेको उनले बताए । “हाम्रो रोजीरोटी यही हो, यसरी मादल नै बिक्न छाडेपछि हाम्रो पेशा नै लोप हुनलागेको छ”, उनले भने, “यसले हामीलाई चिन्तित बनाएको छ ।”
मादलको व्यापार घट्नुको प्रमुख कारण यसको प्रयोग नै घटेको उनीहरूको भनाइ छ । मेला, बजार र देउसीभैलोमा मादल बजाउने क्रम घटेको छ । गाउँघरमा पनि प्रायः अत्याधुनिक स्पिकर र साउन्ड सिस्टमको प्रयोग गरेर रमाइलो गर्न थालिएको छ । मेहनतअनुसारको मूल्य पाउन छोडेपछि मादल बनाउने वादीहरूको संख्या पनि घटेको छ ।
मादल बनाउनका लागि लाम्पाते, पटमेरो, सिरिस, उत्तिसजस्ता रुखको काठ प्रयोग गर्छन् । गोरु र बाख्राको छाला प्रयोग हुन्छ । काठ खोप्ने आधुनिक औजार तथा मेसिन अभावमा उनीहरूले परम्परागत रूपमै छिनो र बसिलाको प्रयोग गर्छन् । एउटा मादल बनाउनकै लागि ४ दिनदेखि एक सातासम्म लाग्ने गर्छ ।
अहिले मादल खोल्ने मेसिन नहुँदा पनि समस्या भएको ठेलराज वादीको भनाइ छ । “मादल खोल्ने मेसिन छैन, पश्चिम दाङबाट खोलेर ल्याउँछौँ, त्यही पनि राम्रो हुँदैन”, उनले भने, “सरकारले मादल खोल्ने मेसिन ल्याइदियो भने हामीलाई सहज हुने थियो ।”
पछिल्लो समय मादल व्यवसाय घट्दै जानुले यस क्षेत्रका वादी समुदायको रोजीरोटी नै गुम्ने तथा पहिचान पनि हराउने चिन्ता भएको भन्दै मादलको बजारीकरण तथा व्यवस्थापन गर्न उपमहानगरपालिकाले पहल थाल्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।
उनले वादी समुदायको सहजताका लागि मेसिन पनि खरीद गर्ने प्रतिबद्धता जनाए । यदि आधुनिक औजार र मेसिनहरूको प्रयोग गरी उद्योगका रूपमा सञ्चालन गर्न सके यो पेसालाई व्यावसायिक बनाई रोजगारी सिर्जना गर्न सकिने वादी समुदायका अगुवाहरुले बताए । त्यसका लागि हाम्रो पुरानो संस्कृति र परम्परासँग जोडिएको मादलका संगीतलाई जोगाइरहन आवश्यक देखिन्छ, उनीहरुको भनाइ छ ।