विराटनगरको श्रम कार्यालयमा श्रीमतीको चित्कार ! ‘मेरा श्रीमानलाई विदेश जानबाट रोकिदिनुस्’

विराटनगरको श्रम कार्यालयमा श्रीमतीको चित्कार ! ‘मेरा श्रीमानलाई विदेश जानबाट रोकिदिनुस्’

विराटनगर । परिवारको सल्लाह विना वैदेशिक रोजगारमा जान लागेका श्रीमानलाई विदेश जानबाट रोकिदिन माग गर्दै एक महिला विराटनगरको श्रम कार्यालयमा पुग्छिन् । झट्ट हेर्दा र सुन्दा कुनै फिम्म तथा गीतको नाटक जस्तो देखिएपनि यो विराटनगरमा रहेको श्रम कार्यालयको बास्तविकता हो ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ का २४ वर्षीय सचिन दाहाल पारिवारिक सल्लाह विना नै दुवई जान लागेको भन्दै उनकी श्रीमती २३ वर्षीय दिप्ती सिलवाल (दाहाल) श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुगेकी हुन् ।
आफू र नाबालक छोराको बिचल्ली बनाएर श्रीमान् वैदेशिक रोजगारीमा जान लागेको भन्दै श्रम कार्यालय विराटनगरमा श्रीमानलाई विमानस्थलबाट रोकिदिन आग्रह गरेकी हुन् । श्रीमानको विमानस्थलमा रोक्काको माग गर्दै श्रम कार्यालयमा निवेदन दिएर श्रीमान फर्काईदिन आग्रह गरेकी हुन् । ‘मेरा श्रीमानलाई विदेश जानबाट रोकिदिनु पर्यो, उनले श्रम कार्यालयमा भनिन्, पारिवारिक सरसल्लाह बिना नै श्रीमान विदेश जान लागेकाले आफू र तीन वर्षको नाबालक छोराको विचल्ली हुन्छ ।’
आफूलाई सासु, ससुरा लगायत परिवारका अन्य सदस्यसँग मिलेर श्रीमानले पछिल्लो समय बिभिन्न यातना तथा तनाव दिन थालेको उनको गुनासो छ । दिप्ती र सचिन बिच पाँच वर्ष अघि प्रेम विवाह भएको हो । उनीहरुका तीन वर्षीय छोरा पनि छन् । श्रम कार्यालयमा भेटिएकी दिप्तीले भनिन्, ‘पछिल्लो समय आफुलाई अनेक यातना दिइरहनु भएका उहाँ (श्रीमान) पारिवारिक सल्लाह नगरिकन विदेश जान लाग्नु भएको छ । राहदानी बनाएर पेस गरेको छ भन्ने कुरा आफन्तबाट सुनेर यहाँ आएकी हुँ ।’
श्रीमान र सासु, ससुराले खान लाउन समेत नदिएको तथा बिभिन्न खालका यातना दिँदै दुरव्यवहार गर्न थालेपछि पारिवारिक तनाव खप्न नसकेर छोरासहित सात महिनादेखि आफू माइतीमा गएर बसिरहेको उनले बताइन् । ‘यस अघि कुराकानी हुँदा हामीलाई व्यवस्थापन गरेर मात्रै जान्छु भन्नु हुन्थ्यो,’ उनले भनिन्, ‘तर थाहै नदिइकन दुवई जानलाई काठमाडौं पुगेपछि चाल पाएँ ।’
परिवारका सदस्यले नराम्रो गरिरहेका बेला श्रीमान विदेश गए आफू र नाबालक छोराले थप तनाव बेहोर्नु पर्ने उनको भनाइ छ । आफुमाथि हिंसा भएको भन्दै उनले ईलाका प्रहरी कार्यालय बेलवारीमा समेत निवेदन दर्ता गराएको जानकारी दिईन् ।
माइतीबाट ल्याएको १२ लाख रुपैयाँले दुवै जना मिलेर काठमाडौंको मित्रनगरमा तीन वर्ष अघि कपडा पसल सञ्चालन गरेको दिप्तीको भनाइ छ । ‘दुवै जनाको सल्लाहले ३४ लाख रुपैयाँमा पसल बिक्री गरिए पनि १२ लाखको मात्रै हिसाव मलाई देखाउनु भयो,’ दिप्तीले भनिन्, ‘अरु पैसा ऋण छ भन्दै सकेपछि पारिवारिक तनाव सुरु भएको हो ।’
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले विवाहित युवतीले दिएको निवेदनका आधारमा विदेश जान रोक लगाउँदै उनका श्रीमान्को एयरपोर्ट रोक्का गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्