विराटनगर । प्रदेश १ का बिभिन्न जिल्लाहरुमा भएको सीमा अतिक्रमणलाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको प्रदेश १ सरकारका प्रवक्ता अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बताएका छन् । उनले प्रदेश १ को ईलामस्थित सन्दकपुरमा निर्माण भईरहेको भ्युटावरमा भारतीय पक्षले गरेको अबरोधको बारेमा कुटनीतिक पहल भईरहेको मन्त्री कार्कीले जानकारी दिए ।
मोरङको सुन्दर हरैँचामा जिल्ला प्रहरी कार्यालय मोरङले आयोजना गरेको सार्बजनिक सुनुवाईको क्रममा स्थानीय युवाहरुले उठाएको प्रश्नमा मन्त्री कार्कीले कुटनितिक तहबाट इलामको भ्यु टावरमा भारतिय पक्षले गरेको ज्यादती विषयमा छलफल हुने बताए ।
ईलामको भ्यु टावरसँगै छिट्टै कालापनी, लिपुलेक र लिम्पियाधुराको भारतीय पक्षबाट भएको नेपाली भुमी अतिक्रमणको विषय पनि कुटनितिक तहबाट समाधान हुने दाबी गरे । उनले यी ठाउँहरुको बारेमा अन्तरास्ट्रियकरण गरेर भए पनि समाधान खोजिने स्पष्ट पारे । सार्वजनिक सुनुवाईमा प्रदेश सभा सदस्य विजय विश्वास, सुन्दरहरैचा नगरपालिका प्रमुख शिव ढकाल, बेलबारी नगरपालिकाकी उपप्रमुख तारा पराजुली, केराबारी गाउँपालिकाका रोहित कार्की, प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।