ईश्वर थापा
हिले (धनकुटा), मंसिर १ गते । धैर्य र सङ्घर्ष कसरी गर्ने भनेर सिकाउने चलचित्र हो ‘जीवन काँडा कि फूल । ’ धनकुटाको केडिबी हलबाट बाहिरिँदै धनकुटा–६ की साबित्रा राईले भन्नुभयो, म पनि त्यही समाजकी महिला हुँ, वास्तवमा हाम्रो समुदायमा एउटा महिला त्यो पनि अपाङ्गलाई समाजले कसरी हेला गर्छ र उसले कसरी सङ्घर्ष गरेको हुन्छ भन्ने कुरा चलचित्रमा पाएँ । ’
गत २२ गतेदेखि रिलिज भएको चलचित्र ‘जीवन काँडा कि फूल’ देशभरका चलचित्र हलमा एकसाथ प्रदर्शन भइरहेको छ ।
त्यही चलचित्र हेरेर बाहिरिएका धनकुटाको छथर जोरपाटीका निराजन कार्कीले चलचित्रले जीवनमा सङ्घर्ष नै सफलताको सूत्र हो भनेर सन्देश दिएको बताउनुभयो । मानिसको जीवनमा सङ्घर्ष नै ठूलो कुरा रहेछ, उहाँले भन्नुभयो, सङ्घर्षबाट सबै सफलता हात पार्न सकिन्छ भन्ने सन्देश पाएँ ।
बाल्यकालमै दीर्घ रोगबाट थलिएकी एउटी बालिकाले परिवार, समाजको बन्धनलाई तोड्दै कसरी सफल भइन् भन्ने विषयमा ‘जीवन काँडा कि फूल’को कथामा भेटेको दर्शकहरूको भनाइ छ । ‘जीवन काँडा कि फूल’ हेरेर फर्किएका दर्शकले चलचित्रलाई अपाङ्गको सङ्घर्षसँग जोडेर व्याख्या गरेका छन् ।
चलचित्रमा विद्यालय जानसमेत वञ्चित झमकले घरमा उनका भाइबहिनीले पढेको समेत हेर्न पाउनुहुन्न । परिवारका सदस्यले तैले पढेर के गर्छेस् भन्दै हटाउने गरेको चलचित्रको कथामा छ । आफैँले सङ्घर्ष गर्दा स्थानीय तथा राष्ट्रियस्तरका पत्रिका झमकको लेख छापिएर पत्रकारहरू घरैमा पत्रिका पु¥याउन आएपछि परिवारले उहाँलाई केही राम्रो गरेको देखाएर चलचित्रले हाम्रो सामाजिक मनोविज्ञानलाई देखाउन खोजेको दर्शक पदमराज रखालले बताउनुभयो ।
साहित्यकार झमक घिमिरेले लेख्नुभएको ‘जीवन काँडा कि फूल’ले मदन पुरस्कार प्राप्त गरेको थियो । चलचित्रले साढे तीन दशक पहिलेको ग्रामीण समाजको अवस्था उतारेको घिमिरेले बताउनुभयो । उहाँले आफ्नो मात्र नभएर फरक शारीरिक अवस्था भएका व्यक्तिको भोगाइका रूपमा आफूले चलचित्रलाई लिएको बताउनुभयो । चलचित्रमा ‘मैले क लेख्न जानेँ’ र ‘तिमीलाई जस्तै मलाई पनि रहर उत्ति नै छ’ बोलका दुई गीत समेटिएको छ ।
झमक घिमिरेको जीवनमा आधारित भएकाले जोकोहीले हेर्नैपर्ने निर्माता विनोद विष्टको भनाइ छ । विष्ट ब्रदर्शको ब्यानरमा निर्माण भएको चलचित्र ‘छुट्टै विशेषता बोकेको भएकाले हालसम्म राम्रो प्रतिक्रिया आइरहेको उहाँले
बताउनु भयो ।
चलचित्रको सुरु र अन्त्यमा झमक स्वयंसमेत देखिनुभएको छ । चलचित्रमा झमकको भूमिका भने फरकफरक उमेरका आधारमा तीन जनाले गरेका छन् । विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाडौँकी रोजिता बुद्धचार्यले गर्नुभएको छ । त्यस्तै झमकको बहिनीको भूमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुवाको
भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० जना भन्दा बढी कलाकारको अभिनय रहेको छ ।
झमकको कथा, मुक्ति उपाध्याय बरालको पटकथा छ । चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर छ भने
नृत्य निर्देशक कमल राई रहनुभएको छ ।