विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ का किसान कमल पौडेलले यसपालि १५ कट्ठा जमीनमा हिउँदे मकै लगाएका थिए । व्यावसायिक मकै खेतीबाट मनग्गे आम्दानी गर्दै आएका उनले यस वर्ष पनि राम्रो कमाइ गर्ने आशा गरेका थिए । तर, अलिकति मात्र ठूलो भएको मकैलाई फौजी कीराले नष्ट पारेपछि उनको चिन्ता बढाएको छ । सोही कारण थप जग्गामा मकै लगाउने उनको योजना रोकिएको छ ।
सोही वडाका रञ्जनकुमार खतिवडाको अवस्था पनि उस्तै छ । उनले २ बिघामा लगाएको मकै खेती पनि फौजी कीराले खाएर नष्ट पारिदिएको छ । उनीहरू जस्तै यस क्षेत्रका अन्य किसानको मकै खेती पनि फौजी कीराले सखाप पारिदिएको छ । सुनसरी लगायत प्रदेश नम्बर १ का धेरैजसो जिल्लाको मुख्यबालीको रूपमा रहेको मकैमा अहिले फौजी कीराको प्रकोप देखिएको हो ।
यो समस्याबाट प्रदेशका झापा र मोरङका किसान पनि उत्तिकै पीडित छन् । प्रदेश–१ को ओखलढुंगामा पहिलोपटक देखापरेको फौजी कीराको प्रकोप क्रमिक रूपमा तराईका सुनसरी, मोरङ र झापा जिल्लामा फैलिरहेको छ । अमेरिकी फौजी कीराले रातमा मकैबाली नष्ट गर्ने गरेको छ । मुख्यतया मकै मन पराउने यस कीराले अन्य बालीमा पनि क्षति पुर्याउँछ । यस वर्षकै बर्खे धान खेतीमा पनि यो कीराले असर पुर्याएको थियो ।
उपयुक्त खानाको खोजीमा यो कीरा एक रातमा सय किलोमिटर टाढासम्म उडेर जाने बाली संरक्षण प्रयोगशाला विराटनगरका बाली संरक्षण अधिकृत मुकेश यादवको भनाइ छ । फौजी कीराको फैलावट गर्मी समयमा चाँडो हुने भएकाले तराईमा प्रकोप बढेको यादवले बताए । मकै छर्ने समय परिवर्तन गर्ने, एउटा क्षेत्रमा एकै पटक बीउ छर्ने, सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग गर्ने, मिश्रित खेती पद्धति र पासोबाली अपनाउने गर्न सके मात्र यो कीराबाट बच्न सकिने उनले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७५/७६ मा यस प्रदेशमा २ लाख ७३ हजार २१८ हेक्टरमा मकै खेती गरिएको थियो, जसबाट ९ लाख १७ हजार ७५० मेट्रिक टन मकै उत्पादन गरिएको थियो । गत वर्ष मकै खेती गरिएकै क्षेत्रफलको हाराहारीमा यो वर्ष पनि मकै खेती गरिएको प्रदेश कृषि विकास निर्देशनालय विराटनगरले जानकारी दिएको छ । अभियान दैनिकबाट