दुहबीमा ९३ करोडको लागतमा वाटरपार्क निर्माणको तयारी, यस्तो छ योजना

दुहबीमा ९३ करोडको लागतमा वाटरपार्क निर्माणको तयारी,  यस्तो छ योजना

विराटनगर। सुनसरीको दुहवी नगरपालिकाले ९३ करोड रुपैयाँ बढीको लागतमा निर्माण हुने ‘वाटरपार्क’ का लागि लगानी जुटाउन छलफल अघि बढाएको छ । दुहवीका मेयर वेदनारायण गच्छदारले प्रदेश १ को मुकाम विराटनगरबाट सबैभन्दा नजिक हुने गरी निर्माणको परिकल्पना गरिएको वाटरपार्कका लागि लगानी जुटाउन प्रदेश सरकार र उद्योगी व्यवसायीहरूसँग आग्रह गरेका छन् ।

बिहीबार विराटनगरमा आयोजित पर्यटन क्षेत्र विकास सन्दर्भमा अन्तरक्रियामा नगरपालिकाले वाटरपार्कसहित चारवटा प्रमुख आयोजनाको विस्तृत प्रस्तुतीकरण गरेको थियो । मेयर गच्छदारले विकासका लागि आफूले देखेको सपनालाई उतारेर लगानीकर्ताको खोजीमा निस्किएको बताए ।

‘मैले सपना देखेको मात्रै हो, सबै मिलेर काम गर्ने हो’ मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको उक्त कार्यक्रममा उपस्थित निजी क्षेत्रका प्रतिनिधिहरूलाई लोभ्याउँदै उनले भने ‘नगरपालिकाको तर्फबाट कुनै अप्ठेरो हुन दिने छैन, हामीले कमाउने आशमा यो परियोजना ल्याएको पनि होइन ।’ उनले ठूला परियोजनाहरू अगाडि बढाउन सकिए त्यस क्षेत्रमा हुने आर्थिक क्रियाक्लापले ग्रामीण क्षेत्रका जनतालाई रोजगारी सिर्जना भई उनीहरूको जीवनस्तर सुधार हुने अपेक्षा लिएको बताए ।

उक्त अवसरमा अनुमानित ९३ करोड ३१ लाख ५३ हजार रुपैयाँ लागत लाग्न सक्ने वाटरपार्क र आधुनिक हाटबजार, नगरप्रमुख आवास योजना र अत्याधुनिक रंगशालाको निर्माणबारे नगरपालिकाका इञ्जिनियर हेमनारायण माझीले छुट्टाछुट्टै प्रस्तुति गरेका थिए ।

उनले झण्डै ९ विघा क्षेत्रफलमा निर्माण गर्ने तयारी गरिएको वाटरपार्कमा ७ सय र ३ सय जना अट्ने क्षमताको दुई वटा सभाहल, होमस्टे, पार्क, चिल्डे«न पार्क, स्वीमिङ पुल, वाटर फल लगायतका संरचना रहने जानकारी दिए ।

परियोजनाको आर्थिक सम्भाव्यताबारे आर्थिक परामर्शकर्ता हेमन्त बस्यालले नगरपालिकाले अघि बढाएको परियोजनामा निजी क्षेत्रको संलग्नता, लगानी र प्रतिफलबारे अलग–अलग प्रस्तावहरू सुनाए । उनले ८ वर्षभित्र पूर्ण रुपमा सञ्चालनमा आइसक्ने परियोजनाका लागि लगानीको मोडलसमेत प्रष्टाए ।

कार्यक्रममा २० करोड ९६ लाखको लागतमा निर्माण गर्न लागिएको रंगशालाको ठेक्का प्रक्रिया अघि बढाइएको, हाट बजार निर्माणका लागि दुहवी–४ मा तीन विघा ७ कठ्ठा जग्गा व्यवस्थापन गरी १२ करोड २७ लाख रुपैयाँको परियोजना तयार पारिएको जानकारी दिइएको थियो । त्यसैगरी नगर प्रमुख आवास योजना अन्तरगत वडा नम्बर ११ तनमुनामा निर्माण गरिने १ सय १६ वटा घरहरूमध्ये ५० वटाको निर्माणका लागि तीन करोड ४५ लाख रुपैयाँमा बहुवर्षीय ठेक्काको प्रक्रिया अघि बढाएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले दुहवी नगरपालिकाले प्रदेशमै पहिलो माथिल्लो सरकारसँग मिलेर ठूलो परियोजनालाई अघि बढाउने प्रस्ताव ल्याएको भन्दै मेयर गच्छदारलाई धन्यवाद दिए । उनले प्रदेश सरकारले समेत ठूला परियोजनाहरूको लिस्ट तयार पार्दै गरेको जानकारी दिंदै नगरपालिकाले ल्याएको प्रस्तावलाई सरकारले साथ दिने प्रतिवद्धता जनाए ।

‘हामी साथ दिन्छौं, प्रदेश सरकार साथमा छ’ मुख्यमन्त्रीले भने ‘यो पार्कलाई हामी सबै मिलेर थाल्छौं, प्रदेश सरकार शेयरमा बस्न तयार छ ।’ नगरपालिकाले अगाडि सारेको वाटरपार्क प्रदेश १ कै प्रमुख पर्यटकीय पूर्वाधारका रुपमा विकास हुनेमा आफू विश्वस्त रहेको बताउँदै नगरपालिका, निजी क्षेत्र र प्रदेश सरकार साझेदारीमा बसेर परियोजनालाई अघि बढाउन तयार रहेको उनले बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उक्त परियोजनामा निजी क्षेत्रले चासो देखाइसकेको बताए । धेरै लगानीकर्ताले परियोजना अघि बढाउन थप छलफलका लागि सँगै बस्न चाहेको पनि बताए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले नगरपालिकाले ल्याएको प्रस्ताव निकै सकारात्मक रहेको बताए । उनले लगानीको सुनिश्चिताका लागि निजी क्षेत्र र सर्वसाधारणले समेत सेयर किन्न सक्ने सम्भावना रहेको सुनाए । उक्त वाटरपार्क निर्माण गरी सञ्चालन गर्न उद्योगी भोलेश्वर दुलालले आफू लगानीका लागि उत्साहित भएको बताएका थिए ।

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्ने उद्योगी व्यवसायीहरूको उपस्थिति थियो । उद्घोष खबर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्