विराटनगर । मोरङका राजनीतिक दलहरु जनप्रतिनिधिबाट हुने जनताको सेवा प्रवाहलाई प्रभावकारी बनाउने बिषयमा एकमत भएका छन् । पार्टी र जनप्रतिनिधिका बिच सम्बन्ध राम्रो नभएको तथा स्थानीय तहले सुशासन कायम गर्न नसकेको गुनासाहरु आईरहेको अबस्थामा दलहरुले संयोजन समिति बनाएर त्यसलाई जनताको हित हुनेगरी काम गर्ने जनाएका हुन् । विराटनगरमा संवाद समुह मोरङसँगको संवादमा ’स्थानीय तहका जनप्रतिनिधि कर सुशासन र राजनीतिक दलहरुको सम्बन्ध’ का बिषयमा गरेको संवादमा दलहरु जनप्रतिनिधिलाई जनतासँगै गरेको आफ्नो प्रतिवद्धताप्रति जिम्मेवार बनाउन विकास र सुशासनका मुद्दामा एक देखिएका हुन् । 
जनप्रतिनिधिले पार्टीसँग समन्वय नगर्ने गरेपनि आफु अप्ठेरोमा पर्ने वा फस्ने बेलामा मात्र सहयोग माग्न आउने, जनप्रतिनिधिले पारदर्शिताको ख्याल नगर्ने गरेको समेत जिल्लास्थित दलहरुको साझा निश्कर्ष छ ।
जनप्रतिनिधिलाई पारदर्शी बनाउन र स्थानीय तहलाई बलियो बनाउनको लागि अन्तरपार्टी संयोजन समिति बनाएर विकास र सुशासनलाई साझा मुद्दाको रुपमा दलहरु लैजान तयार भएका हुन् ।
स्थानीय तहमा नीतिगत अपारदर्शिता देखिएकोले त्यसलाई रोक्न पनि दलहरुले अभियान चलाउने समेत प्रतिवद्धता जनाएका छन् । डिपिआर र सफ्वेयरका नाममा हुने भ्रष्टाचार समुदायबाट नै रोकिनु पर्ने उनीहरुको ठम्याई छ ।
स्थानीय तहको सुशासन पारदर्शिता र जवाफदेहिता कायम गर्नका लागि मूख्य राजनीतिक दलहरु नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीले संयोजन गरेर नै अघि बढ्ने तयारी थाल्ने बताएका छन् । मोरङका १७ वटा स्थानीय तह मध्ये विराटनगर महानगरपालिका सहित कटहरी, बुढीगंगा, धनपालथान, केरावारी गाउँपालिका, सुनवर्सी, रतुवामाई, उर्लावारी र सुन्दर हरैँचा नगरपालिकामा कांग्रेसका प्रमुख छन् ।
त्यस्तै रंगेली, पथरी शनिस्चरे, बेलवारी नगरपालिका सहित कानेपोखरी, ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा नेकपाका प्रमुख छन् । जहदा गाउँपालिकामा भने समाजवादी पार्टीका प्रमुख रहेका छन् ।
आम नागरिक तहबाट आएका गुनासाका आधारमा मोरङ जिल्ला स्थीत दलहरु कार्यबिधि बनाएर स्थानीय तहमा हुने नागरिकका सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाफदेहीताको सवाललाई ब्यवस्थित गर्ने तयारीमा छन् ।
नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले अब स्थानीय तहका जनप्रतिनिधि जनता प्रति उत्तरदायि हुनेगरी दलले अनुगमन गर्ने बताए । जनप्रतिनिधिहरु जनता प्रति गरेको त्यो बेला जनतासँग गरेको प्रतिवद्धताका आधारमा अघि बढ्नु पर्छ, जनता प्रति जिम्मेवार बन्नुको बिकल्प छैन, पोखरेलले भने ।
नेपाली कांग्रेसका सचिव मोदराज घिमिरेले जनप्रतिनिधि दल तथा जनताप्रति जिम्मेवार हुन नसकेको जस्तो देखिएकोले अब आम नागरिकका सवालमा सबै दल एक भएर लाग्ने गरी अभियान शुरु हुने बताए । जितेर गएका पार्टीका ब्यक्तिहरु जितेर गएपछि पार्टी भन्दा माथि हुन खोज्ने प्रबृति पनि स्थानीय तहका जनप्रतिनिधिमा देखिएको समेत संवादमा कुरा उठेको छ ।
संघीय समाजवादीका नेता जयराम यादव र राजकुमार यादवले जनप्रतिनिधिहरु समन्वय नै नगर्ने गरेको बताए । राजनैतिक दल र जनप्रतिनिधिका बिचमा सम्बन्ध राम्रो नभएको बताउँदै नीति नियम निर्धारण गर्दा सबै राजनीति दलहरुलाई बोलाएर जनप्रतिनिधिले छलफल गराउनु पर्नेमा त्यस्तो नभएको उनीहरुको भनाई छ । प्रदेश सभा सदस्य जयराम यादव भन्छन्, ‘जनताका मुद्दामा सबै दलहरु एक ठाउँमा हुनुपर्छ, निर्वाचित स्थानीय जनप्रतिनिधिले सम्बन्धित दल र पार्टीसँग समन्वय गर्नु पर्छ ।’
नेकपाका नेता महेश रेग्मी तथा गोपी आछामीले पार्टी कमिटीले जनप्रतिनिधिलाई कन्ट्रोल गर्ने बताए । पार्टीको नीति कार्यक्रकमलाई साधनको रुपमा जनप्रतिनिधिले अबलम्बन गर्नुपर्ने भन्दै अहिले त्यस्तो नहुँदा समस्या देखिएको उल्लेख गरे । स्थानीय तहलाई सुशासन र पारदर्शी बनाउनको लागि संचार माध्याम निश्पक्ष हुने, नागरिक समाजलाई संस्थागत गर्ने, दण्डहिनता अन्त्यको अभियान शुरु गर्ने र पार्टीहरु बिचमा संयन्त्र बनाएर कार्वाही गर्ने हो भने अहिलेका स्थानीय तहमा देखिएका सबै समस्या समाधान हुने उनीहरुको भनाई छ ।
नेकपाका नगर अध्यक्ष सागर थापा र नेपाली कांग्रेस विराटनगर महानगर नगर समितिका कार्यवाहक सभापति अरुण नेउपानेले योजना निर्माण गर्न र छलफलका लागि महानगरले बोलाउने गरेको बताए । नेकपाका नेता थापाले माग भएका योजनाहरु लिखित रुपमा दिईने, सुझावलाई पनि समेटिने तर कार्यान्वनयन भने नगर्ने गरेको बताउँछन् । कांग्रेस सचिव नागेश कोईरालाले पार्टीले जनप्रतिनिधिलाई नियमन गर्नु पर्ने बताए । तर पनि पार्टीले धेरै कामहरु गर्दै आएको स्पष्ट पारे । कोईरालाका अनुसार जनप्रतिनिधिले गरेका केही गल्ती कमीकमजोरीका कारण दलहरु पनि जोडिने गरेकोे उल्लेख गरे । अब जन प्रतिनिधिलाई छुट्टाछुट्टै राखेर छलफल गरिनु पर्ने उनको भनाई छ ।