साग महिला फुटबल : नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर

साग महिला फुटबल : नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर

कास्की । १३ ‌‍औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबलको लिग चरणको शनिबार नेपाल र भारतबीचको स्पर्धापछि ‘पोष्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले भन्नुभएको थियो, “आजको खेल ५०/५० को रह्यो हामीले पाएको अवसरलाई सदुपयोग गर्‍यौँ र आफ्नो पक्षमा नतिजा ल्यायौँ ।”

भारतीय प्रशिक्षकको भनाइलाई नै आधार मान्ने हो भने पनि नेपाल र भारतबीचको खेल जहिले पनि प्रतिस्पर्धापूर्ण हुन्छ र जसले पाएको अवसरको राम्रोसँग सदुपयोग गर्छ उही टोली खेलमा विजयी हुन्छ । महिला तथा पुरुष दुवैको उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मको स्पर्धाको नतिजामा नेपालमाथि भारत हाबी हुँदै आए पनि यी दुई देशबीचको खेल जहिले पनि रोचक र स्पर्धापूर्ण रहने गर्दछ ।

त्यसैले पनि जारी साग खेलकूदअन्तर्गत महिला फुटबलको स्वर्ण पदकका लागि सोमबार आयोजक नेपाल र भारतबीच पोखरा रङ्गशालामा हुने खेल अत्यन्त प्रतिस्पर्धापूर्ण रहने भनाइ दुवै टोलीका प्रशिक्षकको छ । खेल प्रतिस्पर्धापूर्ण रहने भएकाले स्वर्ण पदकको हकदार को बन्छ भन्नेमा खेलअघि नै अनुमान लगाउन कठिन हुन्छ ।

सोमबारको खेलमा नेपाल अघिल्लो संस्करणको फाइनल तथा दुई दिनअघि लिग चरणको खेलमा १–० को नतिजामा भएको हारको बदला लिएर स्वर्णपदक जित्दै इतिहास रच्ने दाउमा रहनेछ । अन्तर्राष्ट्रिय स्पर्धामा जहिले पनि भारतसँग पराजित हुँदै आएको अवस्थालाई तोड्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने निश्चित छ ।

घेरलु मैदान र दर्शकको बाक्लो उपस्थितिले टोलीको मनोबल उच्च बनाउने छ भने दुई दिनअघिको खेलमा भएको गल्तीलाई सुधार गर्दैै आफू अनुकूलको नतिजा ल्याउने अवसर नेपाललाई छ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अघिल्लो खेलमा भएको गल्तीलाई सुधार गर्दै स्वर्ण पदकका लागि स्पर्धामा उत्रिने बताउनुभयो । भारत नेपालका लागि नौलो प्रतिद्वन्द्वी नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “खेलमा हुने गल्तीलाई कम गर्दै विपक्षीको गल्तीलाई सदुपयोग गरेर स्वर्ण जित्ने गरी खेल्ने छौँ । घरेलु मैदानमा भारतलाई हराउन हामी सक्षम छौँ ।”

भारतीय प्रशिक्षक मेयामोल रकी नेपालले सँधै आफ्नो टोलीमाथि दबाब सिर्जना गर्ने गरेको बताउँदै फाइनलमा आक्रामक फुटबल खेल्दै स्वर्ण जित्ने लक्ष्य रहेको बताउनुभयो । खेलाडीको ‘युनिटी’नै टोलीको सवल पक्ष रहेको बताउँदै उहाँले सम्पूर्ण खेलाडी स्वर्णका लागि खेल्न मानसिकरुपमा तयार रहेको उल्लेख गर्नुभयो ।

जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १–० को अन्तरले पराजित भएको थियो । भारतले श्रीलङ्कालाई ६–०, माल्दिभ्सलाई ५–० र नेपाललाई १–० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो । नेपाल र भारत हालसम्म अन्तर्राष्ट्रिय महिला फुटबलमा छ पटक भिडेका छन् । नेपालसँगको सबै स्पर्धामा भारत हाबी हुँदै आए पनि नेपाली टोलीले उनीहरुलाई कडा टक्कर दिँदै आएको छ ।

महिला फुटबलमा नेपालले भारतलाई एकपटक मात्र पराजित गर्न सफल भएको छ । गत वर्ष भारतमै आयोजना भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई उसकै भूमिमा २–१ गोल अन्तरले पराजित गरेको थियो । भारतमा सम्पन्न १२औँ संस्करणको सागमा समेत यी दुई टोली फाइनलमा स्पर्धा गरेका थिए । त्यसमा नेपाल ४–० ले पराजित भएको थियो ।

पाकिस्तानको इस्लामावादमा सन् २०१४ मा भएको चौथो साफ च्याम्पियसीपको फाइनलमा नेपाल भारतसँग ६–० गोल अन्तरले पराजित भएको थियो । गत वर्ष विराटनगरमा सम्पन्न पाँचौँ संस्करणको साफ च्याम्पियनसीपको फाइनलमा समेत नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्