विराटनगर । कोशी अस्पतालमा प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेको एकल आदेशमा कर्मचारी भर्ना गरिएको खुलसा भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोशी अञ्चल अस्पतालमा राजनीतिक हस्तक्षेपको आधारमा कर्मचारी नियुक्त गरिएको राष्ट्रिय सर्तकता केन्द्रलेको अध्ययनले देखाएको छ ।
मन्त्री घिमिरेले एक वर्ष अघि १४ जना कर्मचारीलाई नियूक्त गर्न नामावलीसहित कोशी अस्पतालमा पत्र पठाएका थिए । ती मध्ये १० जना कर्मचारी नियमित काममा रहेको भेटिएको छ ।
सतर्कता केन्द्रको प्रतिवेदनमा बबिता सुवेदी, भोलानाथ ढुंगेल, मैयादेवी मैनाली, डम्बरकुमारी पोखरेल, सरद अधिकारी, बिमला पौडेल, दयाराम यादव, शिरिश साह र संध्याकुमारी साह नियमित हाजिर भएको प्रतिबेदनमा उल्लेख छ ।
ती मध्ये शिरिश, संध्या र दयाराम फार्मेसी सहायक हुन् । अन्य पाँच जना कार्यालय सहयोगी हुन् । कार्यालय सहयोगीको रुपमा नियुक्त भएकी बिमला पौडेल अस्पतालका नायव सुब्बा जर्नादन पौडेलका आफन्त हुन् ।
कर्मचारी भर्ना गरेको बिषयमा उजुरी परेपछि छानविन गरेको सर्तकता केन्द्रले निश्चित आधार तय गरेर मात्र कर्मचारी नियुक्ती गर्न अस्पताललाई सुझाव दिएको छ । सतर्कता केन्द्रको प्रतिवेदनको अनुसार ‘कार्यालय सहयोगी तथा फार्मेसी सहायक पदमा कर्मचारीहरु करार सेवामा नियुक्त गर्दा विज्ञापन तथा प्रतिस्पर्धा विना नै भर्ना गरेको भेटिएको छ ।
कानुनको दृष्टीमा सबै नेपाली नागरिक समान भएका कारण प्रारम्भिक तहबाट नियुक्तीका लागि निश्चित आधार तय गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । कोशी अस्पतालमा नेपाल सरकारको तर्फबाट ५३ र अस्पताल विकास समितिको तर्फबाट ९७ कार्यालय सहयोगीको दरवन्दी छ ।
यता कोशी अस्पतालमा कार्यरत नायब सुब्बा नवराज लुइटेलको नियुक्तीको फाइल नै गायब भएको छ । सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा उनको नियुक्तीको फाइल नै गायब भएको पाइएको हो ।
कर्मचारी नियुक्तीमा लुइटेलले चलखेल गर्दै आर्थिक लाभ लिएको उजुरी परेपछि सतर्कता केन्द्रले छानविन गर्दा उनको नियुक्तीको फाइल नै नभेटेको हो । लुइटेल अस्पताल विकास समितिबाट नियुक्ती पाएका कर्मचारी हुन् । उनको नियुक्तीको फाइल नभेटिएपनि २०६४ सालमा स्थायी बनेको प्रतिवेदनमा उल्लेख छ ।